राजनीति

काँग्रेस हतियार भन्दा गान्धीबादी बाटो रोज्दै दीगो लोकतन्त्रमा विश्वास गर्छ: सभापति देउवा

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अहिंसात्मक आन्दोलनबाट प्राप्त उपलब्धि दिगो र भरपर्दो हुने बताएका छन् । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५० औँ गान्धी दिवसका अवसरमा बुधबार आयोजना गरेको २१ औँ शताब्दीको लोकतन्त्र र गान्धी विषयक विचार गोष्ठीमा उनले महात्मा गान्धी भारतीय स्वतन्त्रता सङ्ग्रामका शीर्ष पुरुष भएको बताए ।

“अङ्ग्रेजजस्तो बलियो शक्तिलाई आन्दोलनबाट हटाउन गान्धीको महत्वपूर्ण योगदान रहेको थियो,” उनले भने । सभापति देउवाले गान्धीले देखाएको बाटोमा ठूला परिवर्तन हुन्छ भन्ने सन्देश नेपालमा भएका परिवर्तनले दिएको उल्लेख गरे । उनले काँग्रेस नेता स्वर्गीय महेन्द्रनारायण निधि गान्धीवादी नेता भएको भन्दै गान्धीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पारे ।

काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले गान्धीले चलाएको अहिंसात्मक आन्दोलनमा नेपाली जनताको पनि उत्तिकै साथ र सहयोग रहेको उल्लेख गरे । “गान्धीले देखाएको अहिंसा र शान्तिको बाटोमा अहिले भारतीय जनता अगाडि बढेका छन्,” उनले भने । नेता निधिले बन्दुकको नालबाट ल्याएको सत्ता लामो समय टिक्न नसक्ने स्पष्ट पारे ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिले गान्धी बहुआयमिक क्षमताका व्यक्ति भएको बताए । “सत्यको पक्षमा कसैसँग नडराउने गान्धीको विशेषता थियो,” उनले भने।

नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले हिंसाको विरुद्धमा गान्धीले चालेको कदम महत्वपूर्ण रहेको बताए । “गान्धीलाई माक्र्सवादको दृष्टिकोणले समेत हेर्न सकिन्छ,” उनले भने ।

भारतीय जनता पार्टीका प्रवक्ता एवं सांसद तरुण विजयले गरीब, दुःखी र शोषित जनताको पक्षमा उभिने व्यक्ति गान्धी भएको बताए । “भारतीय स्वतन्त्रताका सेनानीको रुपमा गान्धीलाई लिन सकिन्छ,” उनले भने । उनले विश्वेश्वरप्रसाद कोइराला नेपालका लागि गान्धीवादी नेता भएको उल्लेख गरे ।

काङ्ग्रेस आईका सचिव चन्द्र कुमारले गान्धीको आदर्श र सिद्धान्तलाई अहिलेका युवामाझ बुझाउनु जरुरी रहेको उल्लेख गरे । “भारतलाई अहिलेको अवस्थासम्म ल्याइपु¥याउन गान्धीको अतुलनीय योगदान रहेको छ,” उनले भने । सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी, प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहाल, प्रा वीणा पौड्याललगायतले गान्धी भारतको मात्र नेता नभएर विश्वको नेता भएको बताए ।