लुम्बिनी

पाल्पामा शून्य दरबन्दीमा मावि सञ्चालन, शिक्षकलाई तलब खुवाउन समस्या

पाल्पा । पाल्पाका दुई विद्यालयमा मावि दरबन्दी शून्य रहेपनि कक्षा सञ्चालन भइरहेको छ । रिब्दीकोट गाउँपालिकाको लक्ष्मी मावि माल्मुल र भाष्कर मावि ठिमुरेमा माविमा शून्य दरबन्दी रहेको छ ।

प्राविका शिक्षक र नीजि शिक्षकका भरमा माविमा कक्षा सञ्चालन गर्नु परेको छ । मावि तथा आधारभूत तहमा पर्याप्त दरबन्दी नहुँदा विद्यालयलाई शौक्षिक गुणस्तरसँगै शिक्षकको पारिश्रमिक व्यवस्थापनमा समस्या भएको बताइएको छ । तल्लो तहका शिक्षकका भरमा माविका कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेका छ ।

दरबन्दी नभए पनि अनुदानका शिक्षकसमेत आकर्षक सुविधा नहुँदा आवदेन दिन नआउने गरेको पाइएको छ । कालिका आधारभूत जोगीथुम र दुर्गा भवानी आधारभूत विद्यालय देउरालीमा शिक्षक दरबन्दी शून्य रहँदा प्रावि तहका शिक्षकका भरमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

भाष्कर माविमा एक नीजि स्रोतका शिक्षक छन् । उनिहरुको मासिक पारिश्रमिक रु २० हजार रहेको छ । मासिक रु सात÷सात हजारमा नीजि स्रोतबाट दुई शिक्षक नियुक्त गरेपछि तलब कसरी जुटाउने भन्ने समस्या छ । पठनपाठन प्रभावित हुँदै आएको छ ।

प्राविमा चार शिक्षकको दरबन्दी, आधारभूत तहमा दुई र एक राहतका शिक्षक छन् । नीजि स्रोतका शिक्षकलाई मासिक तलब खुवाउन समस्या भएको प्रधानाध्यापक रिखबहादुर खत्रीले बताए । गत आर्थिक वर्षमा गाउँपालिका र स्थानीय बासिन्दाको सहयोगमा नीजि स्रोतका शिक्षकलाई तलब खुवाइएको थियो, भने वर्ष स्थानीय बासिन्दाबाट पैसा सङ्कलन गरी तलब खुवाउनुपर्ने बाध्यता रहेको छ ।

एक अनुदान शिक्षकका लागि कोटा पाए पनि विज्ञापनअनुसार कसैले पनि आवेदन नदिएको प्रअ खत्रीले जानकारी दिए । “आवदेन नपरेपछि अहिले तेस्रो पटक विज्ञापन गर्नु परेको छ,” उनले भने । लक्ष्मी माविमा १२५ विद्यार्थी अध्ययनरत छन् ।

पाँच नीजि स्रोतका शिक्षक छन् । खर्च धान्न नसकेपछि तीन जनाको नविकरण हुन सकेको छैन । मावि तहमा नीजि स्रोतका एउटा शिक्षकलाई रु आठ हजार ५०० तथा अर्कोलाई रु चार हजार ५०० तलब उपलब्ध गराइएको छ ।

विद्यालयका प्रअ प्रेमबहादुर खड्का अर्को वर्षदेखि विद्यालय सञ्चालन गर्न गाह्रो हुने बताए । महोत्सवबाट सङ्कलन भएको रकम तथा गाउँपालिकाको सहयोगबाट नीजि स्रोतका शिक्षकलाई तलबको व्यवस्था गर्नु परेको छ ।

विद्यालयमा तीन शिक्षक दरबन्दीका, दुई राहत तथा आधारभूत तहमा तीन राहतका शिक्षक कार्यरत रहेका छन् ।