सुदूरपश्चिम

लागुऔषध कारोवारसँगै सुरक्षा चुनौती बढ्दै

धनगढी । लागूऔषध सेवन र कारोवार गर्नेहरु बढेसँगै विभिन्न खाले आपराधिक घटनाले यस क्षेत्रमा सुरक्षा चुनौती पनि थपिँदै गएको छ ।

लागुऔषध प्रयोगकर्ता बढ्दै जाँदा यसको कारोवार र सेवनमा संलग्न हुने पक्राउ पर्ने क्रम पनि पछिल्लो समय कैलाली जिल्लामा बढेको छ । तर यसको प्रयोग र कारोवार न्यूनीकरणमा अपेक्षित सुधार आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्कअनुसार जिल्लामा दुई वर्षमा यसको कारोवार र सेवनमा संलग्नमध्ये १६२ जना पक्राउ परेका छन् । तीन फरार छन् । आर्थिक वर्ष २०७३/७४ मा ५२ जनालाई पक्राउ गरिएकोमा गत आवमा १०८ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका माथि आव २०७३/७४मा ३६ र गत आवमा ७१ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएको छ ।

चालु वर्षको पछिल्लो दुई महिनामा मात्रै छजना पक्राउ परेकोमा त्यतिनै सङ्ख्यामा मुद्दा दर्ता भएको छ । तथ्याङ्कअनुसार गएको २६ महिनामा जिल्लामा ब्राउन सुगर सम्बन्धी मुद्दा मात्रै ३७ वटा दर्ता भए । यसपछि नाइट्रोभेटका ३४, चरेशका ३२, स्पास्मो प्रक्सोभनका आठ, अफिम र गाँजा सम्बन्धी एक/एक मुद्दा दर्ता भए ।

यो अवधिमा पक्राउ परेकाबाट झण्डै २२२ किलो चरेश, २७० ग्राम ब्राउन सुगर, एक हजार ५०० ट्याब्लेट नाइट्रोभेट र ८०३६ ट्याब्लेट स्पास्मोप्राक्सोभन बरामद भएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंह लागुऔषधको सेवन र कारोवार बढ्दा आपराधिक घटना बढेको स्वीकार गर्छन् । ‘‘लागुऔषधका कारण समाजमा हत्या, चोरी, डकैती, लुटपाट, महिला हिंसा, जस्ता आपराधिक घटना बढेका छन्, यसले समाजमा गम्भीर समस्या निम्त्याइरहेको छ ”, सिंहले भने ।

टीकापुर क्षेत्रमा मात्रै गएको चार महिनामा ७५० जना लागुऔषधका सेवनकर्तालाई पक्राउ गरियो । तीमध्ये बिक्री वितरणमा संलग्न ३२ जनामाथि मुद्दा लगाएको र कूलत छुटाउन नौलाई पुनःस्थापना केन्द्रमा पठाइएको कार्यालयले जनाएको छ ।

टीकापुर प्रहरीले लागुऔषध रोकथाम गर्न चलाएको ‘क्लिनस्वीप अपरेशन‘ मार्फत् विद्यालय, कलेज, क्लबमा आवद्ध युवाका साथै अभिभावक र शिक्षकका प्रतिनिधिको सहभागितामा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
टीकापुर क्षेत्रमा अहिले लागू औषधको समस्या पहिलेको भन्दा कम भएको प्रहरी नायब उपरीक्षक सिंह दाबी गर्छन् । प्रहरीको सक्रियतासँगै कैलालीमा लागू औषध कारोवारी समातिने क्रम पनि बढेको बनाइएको छ ।

‘‘आफ्नो बच्चाले गर्ने गतिविधितर्फ अभिभावकको ध्यान त्यति पुग्न नसेकोले यो समस्या बढिरहेको देखिन्छ, चाहिने भन्दा बढी खर्च रकम दिँदा पनि बिग्रिएको पाइएको छ ”, प्रहरी निरीक्षक पुस्कर चन्दले भने । नेपाल भारतबीचको खुला सिमानाका कारण सीमासम्म सहज पहुँच हुँदा लागूऔषधको कारोवार नियन्त्रणमा कठिनाइ भएको प्रहरीको भनाइ छ । आफ्ना साथीभाइको लहलहैमा लागेर र अभिभावकको उचित संरक्षण एवं रेखदेख नपाउदा कतिपय युवा कूलतमा फसिरहेको लागुऔषध रोकथामका क्षेत्रमा कार्यरत संस्था नयाँ बिहानी पुनःस्थापना केन्द्र टीकापुरका अध्यक्ष हेमन्त साहु बताउँछन् ।

‘‘सरकारले नै केन्द्र सञ्चालन गरेर कूलतमा फसेकाको पुनःस्थापना गर्दै उनीहरुलाई सीप र रोजगारीको अवसर सिर्जना गर्न जरुरी भइसकेको छ ”, साहुले भने । खासगरी १६ वर्षदेखि २५वर्ष उमेरका युवा लागुऔषधको सेवन र कारोबार गर्ने कूलतमा बढी लागेको बताइएको छ ।