प्रदेश 2

औरही नगरपालिकामा तालाबन्दी

महोत्तरी । महोत्तरी औरही नगरपालिकाको कार्यालयमा आज स्थानीयवासीले तालाबन्दी गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ का लागि पारित गरेको बजेटको सम्बन्धमा असन्तुष्टि जनाउँदै स्थानीयवासी दरेश यादवको नेतृत्वमा गएको एक समूहले कार्यालयको मूलढोकामा तालाबन्दी गरेको हो ।

यसअघि १५ बुँदे मागसहितको ज्ञापनपत्र नगरपालिकाको कार्यालयमा बुझाइए पनि यस विषयमा कुनै छलफल वा समस्या समाधानतर्फ ध्यान नदिएका कारण बाध्य भएर आफूहरु तालाबन्दी गरेको संयोजक दरेश यादवले बताए ।

नगरप्रमुख सुनिल यादवले आफूले बोलाएको वार्तामा आन्दोलनकारी नबसेको आरोप लगाउँदै वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न नगरपालिका प्रतिवद्ध रहेको बताए ।