गण्डकी प्रदेश

निर्मल माविमा पहिलो पटक इञ्जिनीयरिङ पढाइ शुरु

दमौली । तनहुँको ब्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा सोमबारबाट पहिलो पटक डिप्लोमा तीन वर्षे सिभिल इञ्जिनीयरिङ (ओभरसीयर ) को पढाइ शुरु भएको छ । यस क्षेत्रको माग र आवश्यकतालाई ध्यान दिएर सो विद्यालयमा इञ्जिनीयरिङको पढाइ थालिएको हो ।

सरकारले गत वर्ष मात्रै निर्मल माध्यमिक विद्यालयलाई नमूना विद्यालयको रुपमा छनोट गरेको थियो । सोहीअनुसार यस वर्ष रु एक करोड ५० लाख बजेट विनियोजन भएको छ । उक्त बजेट विद्यालयको शैक्षिक तथा भौतिक विकासमा खर्च गरिने विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले प्राविधिक विषयको अध्ययन गर्न नयाँ पुस्ता बढी इच्छुक देखिएपछि सोही आवश्यकता पुरा गर्न सिभिल इञ्जिनीयरिङको पठनपाठन शुरु गरिएको बताए ।

“ अध्ययनको लागि २० विद्यार्थी भर्ना भइसकेका छन्, पाँच विद्यार्थी छात्रवृत्तिअन्तर्गत भर्ना हुन्छन्”, प्रधानाध्यापक बस्नेतले भने । करीब ३५ विद्यार्थी इञ्जिनीयरिङ पढाइका लागि भर्ना हुन आउने अनुमान छ । प्राविधिक विषय पढाइका लागि सामग्रीको अभाव रहेकाले स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँग अनुरोध गरिने विद्यालयले जनाएको छ । “ विद्यालयले करीब रु ७७ करोडको गुरुयोजनासमेत तयार गरेको छ, सोहीअनुसार नै विद्यालयको शैक्षिक र भौतिक विकासका काम अघि बढ्नेछ ”, प्रधानाध्यापक बस्नेतले भने ।

विद्यालयले आगामी वर्षमा प्राविधिक विषयका थप कक्षासमेत सञ्चालन गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर दरैले बताए । आगामी वर्ष अमिनको पढाइ विद्यालयमा शुरु गर्ने योजना बनाइएको जानकारी दिँदै दरैले विद्यालयलाई प्राविधिक शिक्षाको उत्कृष्ट केन्द्रका रुपमा विकास गर्ने सोच रहेको बताए ।

विसं २०२५ सालमा स्थापना भएको सो विद्यालयमा दश जोड दुईमा तीन सयसहित कुल नौ सय विद्यार्थी अध्ययनरत छन् । कक्षा दश अन्र्तगत खुला विद्यालयको पठनपाठन पनि चलिरहेको छ । दश जोड दुईमा व्यवस्थापन, शिक्षा, कानून र प्राविधिकधारतर्फ इञ्जिनीयरिङ विषयको पढाइ हुन्छ । बहुप्राविधिक शिक्षालयको रुपमा विकास गर्ने गरी काम भईरहेको प्रधानाध्यापक बस्नेतले बताए । अर्को वर्षबाट विज्ञान, सर्भेलगायत विषयसमेत शुरु गर्ने बताइएको छ ।

इञ्जिनीयरिङमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरी कार्यक्रमको शुभारम्भ गर्नुहुँदै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बजारमा रोजगार उपलब्ध हुन सक्ने समयानुकूल प्राविधिक शिक्षाको पठनपाठन आजको आवश्यकता हो भने । “अहिलेको शिक्षा प्रणालीका कारण उच्च शिक्षामा उत्तीर्ण भए पनि देशमा रोजगारी नपाएर धेरै युवा विदेशिनुपर्ने बाध्यता छ”, उनले भने, “प्राविधिक शिक्षा भनेको रोजगारमूलक शिक्षा हो, यसको नेपालमा ठूलो माग छ ।”

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) ले तनहुँ जिल्लाका पाँच विद्यालयलाई प्राविधिक शिक्षा पढाइको अनुमति प्रदान गरेको थियो । जसअनुसार आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता माध्यमिक विद्यालय, भानु नगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालय, ब्यास नगरपालिका–१ स्थित निर्मल मावि, भानु नगरपालिका–२ स्थित होमराज लोहनी शारदा शिक्षा सदन र ब्यास नगरपालिका–६ स्थित जनजुक्त शाही माविले प्राविधिक विषय पढाइको अनुमति प्राप्त गरेका छन् ।

मित्रता माविमा बाली विज्ञान, त्रिभुवन माविमा पशु विज्ञान, निर्मल माविमा सिभिल इञ्जिनीयरिङ, होमराज लोहनी शारदा शिक्षा सदनमा सिभिल इञ्जिनीयरिङ र जनजुक्त माविमा पशु विज्ञानको पढाइ हुनेछ । मित्रता माविमा ४०, त्रिभुवन माविमा ४०, निर्मल माविमा ४८, होमराज लोहनीमा ४८ र जनजुक्त माविमा ४० को कोटा तोकिएको छ ।

आगामी दुई वर्षभित्र प्रत्येक स्थानीय तहमा सिटिइभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय स्थापना गर्ने प्रधानमन्त्री केपी ओलीको घोषणाबमोजिम जिल्लामासमेत प्राविधिक विषयको पढाइका लागि अनुमति प्रदान गरिएको सिटिइभिटीले जनाएको छ ।