बाग्मती

सामाजिक स्वच्छता अभियान शुरु

रसुवा । सामाजिक स्वच्छता अभिवृद्धिका लागि रसुवामा अभियान शुरु गरिएको छ । सामुदायिक प्रहरीअन्तर्गत गठित सामुदायिक सेवा केन्द्र र महिला सञ्जालद्वारा संयुक्तरुपमा सो अभियान शुरु गरिएको हो । अभियानअन्तर्गत पहिलो चरणमा दशैँतिहारलाई लक्षय गरी अत्यधिक मदिरा सेवन, घरघरमा खेलाइने जुवा, तास, लङ्गुर बुर्जाजस्ता क्रियाकलापलाई नियन्त्रण गरिने सामुदायिक सेवा केन्द्रका अध्यक्ष रितुपेमा तामाङले बताए ।

दशैँतिहारजस्ता चाडपर्वमा जुवा खेलाउने घर र खेल्ने व्यक्तिको पहिचान गर्ने, यसविरुद्ध उनीहरुलाई सचेत गराउने, आवश्यक परेमा नेपाल प्रहरीको सहयोगमा कानूनी उपचार खोज्ने र त्यसको प्रभावकारी अनुगमन गर्ने सामुदायिक केन्द्रले जनाएको छ ।

लागुऔषध नियन्त्रण, घरेलु हिंसा तथा मानव बेचबिखनविरुद्ध आवश्यक कदम चाल्न सामुदायिक केन्द्रमा १० महिलासहित १५ पदाधिकारी रहेको बताउँदै अध्यक्ष तामाङले यस्ता क्रियाकलाप भएको पाइएमा सामुदायिक केन्द्रलाई सूचना दिन सबैमा आग्रह गरे।

महिला हिंसाका कारण श्रीमान्श्रीमतीबीच सम्बन्धबिच्छेदका घटना बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि दुवै पक्षबीच मेलमिलाप गराउने प्रयास थालिएको बताइएको छ ।

आर्थिक वर्ष ०७३/०७४ देखि हालसम्म जिल्लामा सम्बन्धबिच्छेद गर्ने महिलाको सङ्ख्या २९ पुगेको जिल्ला अदालतले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको निर्देशन र सामुदायिक प्रहरीको सुझावमा आफ्ना गतिविधि अगाडि बढाइरहेको सामुदायिक केन्द्रले समाजमा हुने विकृति अन्त्य गर्न मद्दत पु¥याउने विश्वास स्थानीयवासीको छ ।

सामुदायिक सेवा केन्द्रले शान्तिसुरक्षा कायम राख्नमा सहयोग पु¥याएको, राजमार्गमा अनधिकृत रुपमा राखिएका व्यावसायिक टहरा तथा सामग्री हटाउनमा सहयोग पु¥याएको तथा विभिन्न विकृतिविसङ्गतिविरुद्ध सामाजिक सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको संस्थाका संस्थापक अध्यक्ष छेसिंगी तामाङले बताए ।

दशैँतिहारमा रसुवाका पाँच वटै गाउँपालिकाअन्तर्गत वडामा मदिरा, तासजुवा, लङ्गुरबुर्जाजस्ता विषयलाई नियन्त्रण गरिने बताइएको छ ।