राजनीति

कम्युनिष्टलाई भोट हालेका जनतालाई कुरीकुरी, अब तिनले कांग्रेसलाई भोट हाल्नेछन्ः नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट सरकारलाई भोट हालेका जनता पछुताएको बताएका छन् । काठमाडौँ क्षेत्र नम्बर १ द्धारा आयोजित चियापान कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन् ।

कम्युनिष्ट सरकार बनाउन म्यान्डेट दिएका जनता अहिले पश्चातापमा रहेको उनले दाबी गरेका छन् । कम्युनिष्ट पार्टीले जनतालाई अनेकन सपना देखाएर चुनाव जितेको आरोप लगाउदैँ नेता सिंहले जनतालाई अहिले कुरीकुरी भएको बताए ।

अस्थिरता हट्ने अपेक्षा गरिएको दुईतिहाई बहुमतको सरकारले देशमा कुनै पनि किसिमका सामाजिक अपराध घटाउन नसकेको उनले बताए । ‘देशमा यो सरकार गठन भएका दिनदेखि बलात्कार, हत्या, हिंसाका घटना घटिरहेका छन् तर सरकार भने मौन छ, उनले भने, अहिले जनता यति धेरै त्रसित बनेका छन जति त्रसित माओवादी जनयुद्धका बेला थिएनन् ।’

अरु पार्टीले गफ धेरै गर्ने काम थोरै गर्ने तर नेपाली कांग्रेसले गफ नगर्ने तर काम धेरै गर्ने ठोकुवा गरेका छन् । कांग्रेसले कम्युनिष्टलाई एक पटक सत्ता दिएर परीक्षण प्रसारण गरेको जसको परिणाम ६ महिना देखिसकिएको र अब जनताले कांग्रेस पार्टी नै ठिक भन्न थालिसकेको बताए ।

कांग्रेस आन्तरिक सुदृढिकरण अभियानमा लागिसकेकाले अबको समृद्धि कांग्रेश बाहेक अरुबाट हुनै नसक्ने बताए ।