अन्तर्राष्ट्रिय

रक्षामन्त्री फेरिए

टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले मन्त्रिपरिषद् पुनर्गठन गरी रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई जिम्मेवारी दिएका छन्। मन्त्रिपरिषदका अन्य सदस्यहरुमा खासै हेरफेर गरिएको छैन ।

मुख्य सचिव योशीहिदे सुगाले मन्त्रिपरिषदको नयाँ नाम सार्वजनिक गरेका थिए । जापानका विदेशमन्त्रीमा तारो कोनो र अर्थमन्त्रीमा तारो आसो यथावत रहेका छन् । सन् २०१७ देखि रक्षा मन्त्रालयको जिम्मेवारीमा रहनुभएका इचुनोरी ओनोदेराको स्थानमा ६१ वर्षीय ताकेसी इवाया नियुक्त भएका छन् । वरिष्ट राजनीतिज्ञ समेत रहनुभएका ताकेसीले यसअघि रक्षा तथा विदेश उपमन्त्रीको रुपमा जिम्मेवारी वहन गरिसकेका छन् ।

गत महिना लिबरल डेमोक्रेटिक पार्टीको पुनः अध्यक्ष निर्वाचित भएपछि प्रधानमन्त्री आबेले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । प्रधानमन्त्री आबेले जापानको पुरानो संविधानमा संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“प्रधानमन्त्री आबेले चुनौती होइन सरकारमा स्थायित्व खोज्नु भएको देखिन्छ,” निहोन विश्वविद्यालयका प्राध्यापक तोमोआकी इवाईले बताए ।

पुनर्गठित मन्त्रिपरिषदमा सातसुकी कातायामा एक मात्र महिला मन्त्रीका रुपमा नियुक्त भएका छन् । यसअघि दुईजना महिला मन्त्रिमण्डलमा थिए । –एजेन्सी