पर्यटन/संस्कृति

टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने

तुलसीपुर । लामो समयदेखि बन्द रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच सोमबार भएको सहमतिअनुसार आज जहाजले परीक्षण उडान गर्नेछ । “दशैँअगाडि बाटै हामीले सातामा दुई पटक विमानसेवा सञ्चालनको तयारी गरेका छौँ,” निगममा प्रवक्ता अशोक सिग्देलले भने । उनले इन्धनको समस्याका कारण काठमाडौँदेखि भैरहवा हुँदै टरिगाउँ विमानस्थलमा विमान अवतरणको तयारी रहेको जानकारी दिए ।

प्रवक्ता सिग्देलले परीक्षण उडान गरेसँगै विमानसेवा दशैँअगाडि सम्मका लागि सातामा दुई पटक सम्भवतः सोमबार र शुक्रबार सञ्चालन हुने समेत बताए । सिग्देलले परीक्षण उडानको रिपोर्ट पेश भएसँगै नागरिक उड्डयन प्राधिकरणले अध्ययन गरेर सहमति दिएपछि उडान तालिका बनाइने बताए। “साताभित्र सबै प्रक्रिया पूरा गरेर विमान सञ्चालन हुनेछ,” उनले भने ।

नेपाल एयरलाइन्सले उडान भर्ने भएकाले अन्य विमान कम्पनीको भन्दा कम भाडा तय हुने नगरप्रमुख पाण्डेले बताए । उनले सातामा दुई पटक सञ्चालन हुँदा रु ६ हजारसम्म र त्यसपछि रु पाँच हजारभन्दा कम भाडा तय हुने बताए। तुलसीपुर विमानस्थल लामो समय सञ्चालनमा नआउँदा हवाईसेवा प्रयोग गर्ने यहाँका यात्रु भैरहवा र नेपालगञ्ज जान बाध्य थिए । महँगो भाडाका कारण पाँच महिनादेखि हवाईसेवा बन्द थियो । तुलसीपुर उपमहानगरपालिकाले गत भदौ ३१ गते हवाईसेवा सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, दाङका सम्पूर्ण सभासद् र निगमका प्राविधिक कर्मचारीको सहभागितामा विमानस्थलमै अन्तरक्रिया कार्यक्रम गरेको थियो ।