लुम्बिनी

ज्येष्ठ नागरिकलाई सम्मान

नेपालगञ्ज । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा यहाँका असहाय ज्येष्ठ नागरिकलाई सोमबार सम्मान गरिएको छ । नेपालगञ्जस्थित नीलसागरमा असहाय ज्येष्ठ नागरिक सेवा केन्द्रका २२ ज्येष्ठ नागरिकलाई खादा र टीका लगाएर प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सम्मान गरे । सो अवसरमा केन्द्रका अध्यक्ष सरिता खनाललाई नेपालगञ्ज उपमहानगरपालिकाको तर्फबाट प्रमुख डा. धवलशम्शेर राणाले उत्कृष्ट सामाजिक अभियन्ताको उपाधिबाट सम्मान गरेका थिए। कार्यक्रममा केन्द्रलाई तीन वर्षदेखि निरन्तर सहयोग गर्ने ३५ दातालाई पनि सम्मान गरिएको थियो ।

यसैबीच नेपालगञ्जको फूलटेक्रा–६ हडियाबाबा मन्दिर नजिक निर्माण हुने नीलसागर असहाय ज्येष्ठ नागरिक सेवा केन्द्रको ३० कोठे भवनको मन्त्री बरालले शिलान्यास गरे । भवन शिलान्यास समारोहमा मन्त्री बराल, प्रदेश नं ५ का सांसदद्वय सुरेन्द्र हमाल र कृष्णा केसी, जिल्ला समन्वय समितिका अध्यक्ष अजय श्रीवास्तवलगायतले ज्येष्ठ नागरिकको सम्मान घरघरमा हुनुपर्नेमा जोड दिए ।