बाग्मती

आवधिक योजना जनमुखी हुनुपर्छ

हेटौँडा । प्रदेश नं. ३ का नीति योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले व्यावहारिक र जनमुखी योजनालाई साझा सहमतिबाट कार्यान्वयन गर्न प्रदेश सरकार जिम्मेवार हुनुपर्ने बताए ।

आयोगद्वारा यहाँ आयोजित ‘प्रदेश नं. ३ को आवधिक विकास योजनाको आधारपत्र तर्जुमा’ सम्बन्धी कार्यशाला गोष्ठीको समापन समारोहमा उनले राष्ट्रिय योजना आयोगबाट निर्देशित हुने योजनालाई अब समयानुकूल परिर्वतन गर्दै जनताको चाहना अनुरुप अगाडि बढाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जनताकै चाहना र सहभागितामूलक योजना तर्जुमा गरी त्यसको व्यावहारिक कार्यान्वयनबाट प्रदेशको विकास र समृद्धिमा लाग्नुपर्ने बताए ।

कृषि, भूमि व्यवस्था र सहकारीमन्त्री दावादोर्जे तामाङले दुर्गम भेगमा बस्ने जनताका लागि कृषि, उद्योग, पर्यटन, वनस्पतिबाट आत्मनिर्भर बन्ने योजनालाई सरकार र स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने बताए

भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले बहुसंख्यक जनतालाई दिगो लाभ पुग्ने कृषि, पर्यटन, उद्योग, उर्जा उत्पादनलगायत योजनालाई एउटै संयन्त्रबाट परिचालन गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

योजना विज्ञ प्रा डा पीताम्बर शर्माले दिगो विकासका लागि लाभ पुग्न सक्ने योजनालाई छनोट गर्नुपर्नेमा जोड दिदैं योजना कार्यान्वयन प्रणालीलाई दलगत स्वार्थभन्दा माथि उठेर अगाडि बढाउनुपर्ने बताए।

गोष्ठीमा योजनाविद् प्रा डा गोविन्द नेपाल, डा. दिनेश भुजु, इञ्जिनियर कृष्णप्रसाद सापकोटा, प्राविधिक जगनाथ अधिकारी र पूर्वसचिव पूर्ण चन्द भट्टराईले योजना सम्बन्धी छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरे ।