समाचार

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकसित रहेका अथाह ज्ञान, सीप र अनुभवलाई देश विकासमा लगाउनुपर्ने औँल्याए ।

राष्ट्रपति कार्यालयद्वारा २८औँ ज्येष्ठ नागरिक दिवसका अवसरमा आज राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकमा रहेका ज्ञानको पुञ्जले नै समुन्नत समाजको निर्माण गर्न सकिन्छ भने । उनले मानिसको जीवनचक्रानुसारको भौतिक संरचना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकलाई दया र मायाका पात्रबाट होइन, राष्ट्र निर्माणका धरोहरका रुपमा लिन आग्रह गर्दै सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा विशेष ध्यान जोड दिनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजका कला, साहित्य, राजनीति, पत्रकारिता, प्रशासन, चिकित्सा, इतिहास, वैदेशिक मामिलालगायत क्षेत्रका अग्रणी ज्येष्ठ नागरिकसित भलाकुसारीसमेत गरेका थिए । कार्यक्रममा प्रदेश नं ३ का प्रमुख अनुराधा कोइराला, वरिष्ठ साहित्यकार वैरागी काइँला, तारानाथ शर्मालगायतको सहभागिता थियो ।

सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले संविधान जारी भएपछि तीनै तहको निर्वाचनबाट राजनीतिक स्थिरता आएको हुँदा अब यसलाई अवसरका रुपमा लिई सबै मिलेर देश विकास गर्नुपर्छ भने ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सरकारलाई सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालनमा गर्न आग्रह गरे ।
वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले ज्येष्ठ नागरिकले आफ्नो हातखुट्टा चलेसम्म आफ्ना ज्ञान र सीपलाई उपयोगमा ल्याइरहनुपर्छ भने । नागरिक अगुवा डा गौरीशङ्करलाल दास प्रधानले आफ्ना ज्ञान, सीप र अनुभवलाई उपयोगमा ल्याउन सरकारसँग आग्रह गरे ।

महिला मन्त्रालयका सहसचिव वीरबहादुर राईले ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधनका क्रममा रहेको जानकारी दिए। यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौँ’ भन्ने छ । पछिल्लो तथ्याङ्कानुसार नेपालमा ६० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकको सङ्ख्या करीब २५ लाख छ ।