समाचार

पुनः निर्माणमा थप सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता

काठमाडौँ । अन्तर्राष्ट्रिय समुदायले नेपालको पुनः निर्माणमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घ महासभाको सन्दर्भमा न्यूयोर्कस्थित राष्ट्रसङ्घ भवनमा आयोजित पुनः निर्माण सम्बन्धी कार्यक्रममा भाग लिएर स्वदेश फर्केका राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यस्तो जानकारी दिए ।

चुनौती र जटिलताबीच पुनः निर्माण र पुनः स्थापनाका पक्षमा नेपालले गरेको प्रगतिको अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरी निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिए । संयुक्त राष्ट्रसङ्घ, युरोपेली महासङ्घ र विश्व बैङ्कद्वारा संयुक्त रुमपा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको पुनः निर्माण तथा पुनः स्थापनाको अवस्था र आगामी कार्ययोजना प्रस्तुत गरे ।

संविधानको व्यवस्थाअनुसार सम्भव भएसम्म स्थानीय तहबाटै पुनःनिर्माण गर्ने गरी प्रक्रिया अघि बढाइएको कार्यक्रममा उनले जानकारी गराएका थिए । पुनःनिर्माणका बाँकी काम सम्पन्न गर्न थप करीब रु छ खर्ब लाग्ने जनाइएको छ ।

आर्थिक स्रोत व्यवस्थापनमा आन्तरिक र बाह्य सहयोग जुटाइने प्राधिकरणले जनाएको छ । विपद् पश्चात्को पुनःनिर्माण आकस्मिक हुने भएकाले तत्काल वित्तीय स्रोत परिचालन गर्न विपद् व्यवस्थापन कोष स्थापना गर्नुपर्ने आवश्यकता सो अवसरमा औँल्याइयो । कोषको रकम खर्च गर्न सहज र सरल प्रावधान राख्नुपर्ने सहभागीको धारणा थियो । कार्यक्रममा डोमिनिका र नाइजेरियाका मन्त्री, युरोपेली महासङ्घ, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूनएनडिपी) का विज्ञ लगायतले विपद्पछिको पुनः निर्माण, पुनः स्थापना, साझेदारी, अर्थतन्त्रलगायतबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए ।