सुदूरपश्चिम

विद्यालय तहका छात्रालाई सेनेटरी प्याड

अछाम । छाउपडी प्रथालाई न्यूनीकरण गर्न र विद्यालय तहका छात्रालाई विद्यालयमा नियमित गराउनका लागि चौरपाटी गाउँपालिकाका– २ विद्यालयमा सेनेटरी प्याड वितरण गरिएको छ ।

वैजनाथ माध्यमिक विद्यालय र सिउडी माध्यमिक विद्यालयमा अध्ययनरत २०० छात्रालाई चौपाटी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजु गुरुङको व्यक्तिगत पहलमा प्याड वितरण गरिएको हो । जिल्लामा छाउपडी व्याप्त रहेको र यसकै कारण कतिपय महिला तथा किशोरीको अकालमै ज्यान गएकाले स्वास्थ्यकर्मीको पहलमा विद्यार्थीलाई सुरक्षित गर्न र पढाइमा बाधा नहोस् भन्नाका लागि प्याड वितरण गरिएको बताइएको छ । महिनावारी हुँदा छात्रा विद्यालयमा आउन नमान्ने र त्यसकै कारण पढाइमा समस्या भइरहेको महसुस गरेर आफूले व्यक्तिगत रुपमा प्याड उपलब्ध गराएको डा. गुरुङले बताए
विद्यालयमा सेनेटरी प्याड वितरण गर्दै चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदले छाउपडी कुप्रथालाई अन्त्य गर्नका लागि सबै लाग्नुपर्ने बेला आएको बताए । महिनावारी भएका बेला विद्यालय आउने छात्राले प्याड लगाएर आउँदा कुनै समस्या नहुने र अरुले पनि थाहा नपाउने सिउडी माविका प्रधानाध्यापक रमेश धानुकले बताए ।