कर्णाली प्रदेश

चार दिनसम्म शवको पहिचान भएन

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ११ स्थित ठूली भेरी नदीमा चार दिन अगाडि फेला परेको एक महिलाको शवको अझैसम्म पहिचान हुनसकेको छैन् ।

वडा नं ११ को रिठा भन्ने ठाउँमा गत असोज १२ गते अन्दाजी ३५/३६ वर्षकी महिलाको शव फेला परे पनि हालसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुबै हात ग्याबिङ तारले बाँधेको र अर्धनग्न अवस्थामा शव फेला परेको उक्त कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुङ्गानाले जानकारी दिए। शव सड्ने अवस्थामा पुगिसकेकाले केही दिनअघि नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

गहुगोरो वर्ण, ५ फिट उचाइ, मङ्गोलियन जस्ती देखिने, तामाङ जातिको पहिरन भएकी मृतकको बारेमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले सबैमा अनुरोध गरेको छ । उक्त शव पश्चिम रुकुम जिल्ला अस्पतालमा राखिएको छ । शवको पहिचान नहुँदा शव परीक्षण गर्न समस्या भइरहेको प्रहरी निरीक्षक ढुङ्गानाले बताए ।