प्रदेश 2

बहिरा सङ्घको अध्यक्षमा यादव चयन

लहान । राष्ट्रिय बहिरा महासङ्घ नेपाल प्रदेश नम्बर २ को अध्यक्षमा सिरहाका गङ्गाराम यादव चयन भएका छन् । बहिरा महासङ्घसँग आबद्ध प्रदेशको आठै जिल्लाका प्रतिनिधिको धनुषाको जनकपुरमा सम्पन्न भेलाले यादवको अध्यक्षतामा बहिरा महासङ्घको प्रदेश समिति गठन गरेको हो ।

समिति उपाध्यक्षमा सर्लाहीकी अनिता शर्मा, सचिवमा बाराका प्रणय विप्लव र कोषाध्यक्षमा धनुषाका शैलेशकुमार झालाई चयन गरेको जनाएको छ । सदस्यमा रौतहटका प्रदीप जयसवाल, महोत्तरीका सुधा गौतम, सप्तरीका रामनारायण साह र बाराका अनुपा चौधरी चयनलाई चयन गरिएको छ ।

भारतीय कुखुराको चल्ला नष्ट

भारतीय बजारबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले आइतबार साँझ सिरहाको औरही गाउँपालिका–१ बाट कुखुराको चल्ला नियन्त्रणमा लिई नष्ट पारेको छ ।

सरकारले भारतबाट कुखुरा, चल्ला तथा पक्षीजन्य वस्तुको आयातमा प्रतिबिन्ध लगाएको छ । इलाका प्रहरी कार्यालय हरकट्टीबाट खटिएको टोलीले भारतीय बजारबाट तस्करी गरी अवैधरुपमा ल्याउँदै गरेको औरही गाउँपालिका–१ स्थित हनुुुमान मन्दिर नजिकबाट करीब रु ३० हजार मूल्यका कुखुराको चल्ला बरामद गरी नष्ट पारेको हो ।

बरामद गरिएको कुखुरा चल्लालाई पशु क्वारेन्टाइन कार्यालयको डाक्टर चन्द्र किसोर यादव, वडाध्यक्ष सुुरैतलाल ठाकुुर, स्थानीयको उपस्थितिमा खाल्डो खनेर नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।