गण्डकी प्रदेश

बाल सुधारगृह नहुँदा समस्या

नवलपरासी । पूर्वी नवलपरासी जिल्लामा बाल सुधारगृह नहुँदा समस्या देखिएको छ । हाल यस जिल्लामा बाल सुधारगृह नहुँदा बालबालिकालाई पोखरास्थित बाल सुधारगृह पठाउँदै आइरहेको छ ।

बाल सुधारगृह पोखराले बालबालिका राख्ने ठाउँ नभएकाले अब बालबालिका नपठाउनु भनी पत्राचार गरेपछि झन् समस्या थपिएको जिल्ला अदालत नवलपुरका श्रोस्तेदारदार (उपसचिव) तारादत्त बडूले जानकारी दिए।

जिल्लामा बाल सुधारगृह नहुने र पोखरासमेत नपठाउन भनी पत्र आएपछि अब सुधारगृहमा राख्नुपर्ने बालबालिकालाई कहाँ पठाउने भन्ने समस्या देखापरेको जिल्ला अदालत नवलपुरले जनाएको छ ।

जिल्ला बाल न्याय समन्वय समिति नवलपुर र जिल्ला अदालत नवलपुरले नेपालको बाल न्याय प्रणाली प्रभावकारी बनाउन बाल सुधारगृह आवश्यता भएको महसुस गरिएको छ ।

नेपालको बाल न्याय प्रणालीमा बालबालिकाले गरेका अपराधलाई बाल दुराचारमा राखेर अपराधको प्रकृति हेरेर सजायस्वरुप कारागारमा नभइ बाल सुधारगृहमा राख्ने गरिन्छ ।

तर कतिपय अवस्थामा आफ्नै जिल्लामा बाल सुधारगृह नहुँदा नेपालको बालबालिकासम्बन्धी ऐन, नियम र कार्यविधिअनुसार बाल न्याय प्रणाली चल्न समस्या देखिएको छ ।

बाल अधिकारसम्बन्धी महासन्धि सन् १९८९ लाई नेपालले सन् १९९० मा अनुमोदनसमेत गरेको छ । उक्त महासन्धिमा बालबालिकाका मुद्दा बाल अदालतबाट हेरिनुपर्ने उल्लेख छ । नेपालले अझै बाल अदालत स्थापना गरेको छैन ।