प्रवास

ओलीविरुद्ध निर्मलाको बलात्कारी र हत्यारालाई कारवाही नभएको भन्दैँ अमेरिकामा यसरी खनिए नेपालीहरु (ज्ञापनपत्रसहित)

काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समिति अमेरिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला ज्ञापनपत्र लेखेको छ । कालो झण्डा देखाएकै कारण प्रधानमन्त्री ओलीले ज्ञापन पत्र नबुझेको भन्दैँ जनसम्पर्क समितिले रोस प्रकट गरेको हो ।

प्रत्येक वर्षको राष्ट्र संघ महासभामा आउने प्रधानमन्त्रीहरुले हरेक वर्ष नेपाली समुदायलाई सम्बोधन गर्ने र यहाँका नेपालीहरुको आवाज सुन्ने, समस्याका बारे चासो राख्ने एक किसिमको प्रचलन भईसकेको अवस्थामा यसपटक नेपाली समुदायले त्यस्तो अवसर नपाएको जून दुःखद भएको जनसम्पर्क समितिले जनाएको छ ।

साथैँ नयाँ सरकार गठन भए यता कांग्रेसको नेतृत्वमा भएको लोकतान्त्रिक आन्दोलनको सफलता, संविधान सभा निर्वाचन, परिणाम, नयाँ संविधान लगायतका ऐतिहासिक उपलब्धिलाई नै जोखिममा पार्ने गरी राज्य संयन्त्र तहबाट भएका गतिविधिप्रति जनसम्पर्क समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तो छ खुल्ला ज्ञापनपत्रः–

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,
प्रधानमन्त्रीज्यूको भ्रमण मूकाम
न्यूयोर्क,अमेरिका ।

विषयः– ज्ञापन पत्र सम्बन्धमा ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघ महासभामा सहभागी हुनु भएका सम्माननीय प्रधानमन्त्रीज्यू र भ्रमण टोलीका अन्य सदस्यहरुलाई हामी हार्दिक स्वागत गर्दछौं । तपाईंको नेतृत्वको यो टोलीले राष्ट्र संघ बडापत्र अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा नेपालको छबीलाई अझ एक कदम उँचो बनाउनेछ भन्ने हाम्रो विश्वास रहेको
छ । तपाईं यतिखेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको कार्यकारी प्रमूख हुनुहुन्छ । यस अर्थमा तपाईं सम्पूर्ण नेपालीको प्रधानमन्त्री हुनुहुन्छ । मुलुक र मुलुकको भूगोल बाहिर रहेका तमाम नेपालीले तपाईं नेतृत्वको वर्तमान सरकारबाट मुलुकको सम्मृद्धि र विकासका लागि निकै ठूलो अपेक्षा गरेका छन् । सरकार संचालनका लागि संसदीय गणीतको दुई तिहाई बहुमत तपाईंसंग छ । प्रदेश र स्थानीय निकायमा तपाईंकै नेतृत्वको पार्टीको बहुमत र नेतृत्व छ । यस्तो अनुकूल अवसरलाई तपाईंले देश विकासका लागि सदुपयोग गर्नु हुनेछ भन्ने अपेक्षा अस्वाभाविक होइन ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
राजनीतिक रुपमा हामी नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा लोकतान्त्रिक आन्दोलनको अगुवाई गर्दै लोकतन्त्रको पक्षमा निरन्तर लड्दै आएका छौं । भनिरहनु पर्दैन,पछिल्लो कालखण्डमा नेपाली कांग्रेसले दोश्रो जनआन्दोलन ०६२र०६३, शान्ति प्रकृया र अन्तरिम संविधान निर्माण र नयाँ संविधान अनुसार तीनै तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरी जनादेश अनुसार अहिले संसदमा प्रमूख प्रतिपक्षी दलको रुपमा सरकारका हरेक गतिविधिको निगरानी र खबरदारी गरिरहेको छ । हामी हाम्रा श्रद्धेय नेताहरु आदरणीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको योगदानको स्मरण गर्दै संविधान कार्यान्वयनको कार्य चुनौतिपूर्ण रहेको तत्कालिन परिस्थितिमा नेपाली कांग्रेसको नेतृत्वमा संघीय संसद, प्रदेशसभा र स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गरि संविधानको कृयाशीलता सुनिश्चितता गर्न सफल पार्टी सभापति एवं तात्कालीन प्रधानमन्त्री शेरवहादुर देउवाको नेतृत्वदायी भूमिकाप्रति गर्व गर्दछौं ।

तर,कांग्रेसको नेतृत्वमा भएको लोकतान्त्रिक आन्दोलनको सफलता,संविधान सभा निर्वाचन,परिणाम,नयाँ संविधान अनुसार सबै तहको निर्वाचनपछि जनमतले तपाईंको नेतृत्वको पार्टीलाई सरकार गठनको जिम्मेवारी सुम्पिएको त्यो पृष्ठभूमिमा नयाँ सरकार गठन यता त्यो ऐतिहासिक उपलब्धिलाई नै जोखिममा पार्ने गरी राज्य संयन्त्र तहबाट भएका गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

यसर्थ हामी निम्न विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउदै लोकतान्त्रिक विधि,विधान,कानुन र संविधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दुई तिहाई बहुमतको सरकारले देशलाई सम्मृद्धिको नयाँ मार्गमा अवतरण गराउन सकोस् भन्ने शुभेच्छा समेत व्यक्त गर्दछौं ।

१. लोकतन्त्रको सुन्दर पक्ष भनेको असहमतिहरुका बीच सहमति खोजेर अघि बढ्नु हो । मुलुकमा अहिले पनि नेपाली राजनीतिका शिखर पुरुष,संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम कार्यवाहक राष्ट्र प्रमूख श्रद्धेय नेता गिरिजाप्रसाद कोइरालाले भन्नु भए जस्तै सहमति,सहकार्य र एकताको आवश्यकता छ । तर तपाईं नेतृत्वको सरकार र राजनीतिक दलका तर्फबाट जुन दम्भ,अहंकार र अत्यन्त गैर राजनीतिक संस्कार र व्यवहार प्रदर्शन भैरहेको छ त्यसका प्रति हामी घोर आपत्ति प्रकट गर्दछौं । मुलुकको कार्यकारी प्रमूखका तर्फबाट जे जस्ता अभिव्यक्तिहरु सार्वजनिक भएका छन् ती अभिव्यक्ति पदीय मर्यादा विपरित छन् र अशोभनीय पनि । हामी स्मरण गराउन चाहन्छौं, तपाईं अहिले कुनै दल विशेषको होइन सिंगो मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र हामी तपाईंलाई त्यही अर्थमा उच्च सम्मान समेत व्यक्त गर्दछौं । तर कस्तो विडम्बना १ तपाईं भने आफुसंग असहमत कुनै सभ्य र भद्र लोकतान्त्रिक व्यवहार समेत ग्रहण गर्न सक्नु हुन्न । हामी चाहन्थ्यौं हाम्रा यी सबै विषयलाई तपाईं समक्ष प्रत्यक्ष रुपमा जाहेर गरौँ र यसका लागि हामी तपाईंका सहयोगीहरु मार्फत भेटघाटको लागि प्रयासरत पनि थियौं । तर तपाईंका तर्फबाट भन्दै तपाईंका सहयोगीहरुबाट जे जवाफ पायौं त्यसले हामीलाई आश्चर्यचकित तुल्याएको छ । आफ्नो समर्थनभन्दा बाहिर गएर सभ्य,शीष्ट तरिकाले हाम्रा विमतिहरु राख्ने र सरकारका गलत कार्यहरुको खबरदारी गर्न पाउने नैसर्गिक अधिकारलाई समेत तपाईंबाट अस्वीकार गरियो । यसका आधारमा हामी प्रष्ट भन्न सक्छौं तपाईं लोकतन्त्र होइन,कम्युनिष्ट अधिनायकवादको अभ्यास गर्दै हुनुहुन्छ । लोकतन्त्रको आडमा कम्युनिष्ट अधिनायकवादको यस्तो हर्कतको हामी निन्दा र भर्त्सना गर्दै सबैखाले कम्युनिष्ट अधिनायकवादका विरुद्ध हाम्रो अभियान केन्द्रीत गर्नेछौं ।

प्रत्येक वर्षको राष्ट्र संघ महासभामा आउने प्रधानमन्त्रीहरुले हरेक वर्ष नेपाली समुदायलाई सम्बोधन गर्ने र यहाँका नेपालीहरुको आवाज सुन्ने, समस्याका बारे चासो राख्ने एक किसिमको प्रचलन नै भैसकेको थियो । तर यसपटक त्यस्तो अवसर पनि नेपाली समुदायले प्राप्त गर्न सकेन । यसमा को बढी जिम्मेवार भन्ने बहस होला तर नेपाली राजदूतावासलगायत अन्य सरकारी निकाय,पदाधिकारी र प्रधानमन्त्री निकट केही व्यक्ति विशेषका कारण यसपटक नेपाली समुदायले आफ्नो मुलुकका प्रधानमन्त्रीलाई स्वागत गर्ने,आफ्ना मुद्दाहरु प्रधानमन्त्री समक्ष राख्ने र सरकारका कमी,कमजोरीका प्रति खबरदारी गर्ने अवसर समेत प्राप्त गर्न सकेन ।

२. मुलुकमा कम्यूनिष्ट सरकारबाट संचार जगतमाथिको निषेध र नियन्त्रणकारी हस्तक्षेप, स्वतन्त्र न्यायपालिकालाई प्रभावित पार्ने प्रयास, नागरिकको सम्पतिको हकलाई कुण्ठित गर्ने प्रयत्न, राष्ट्रसेवक कर्मचारी र शैक्षिक क्षेत्रमाथिको अन्यायपूर्ण आतंक, मौलाउदै गएको दण्डहिनता आदिबाट पनि तपाईं नेतृत्वको वर्तमान सरकार सर्वसत्तावाद(उन्मूख रहेको प्रष्ट छ । अतस् लोकतान्त्रिक गणतन्त्र,संघीयता, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायप्रणाली, ट्रेड युनियन अधिकार, विद्यमान कानून अन्तर्गत रही निर्वाध पेसा ब्यबसाय गर्ने र हिंड्डुल गर्न पाउने अधिकार लगायत लोकतन्त्रका स्थापित मूल्यमान्यताको रक्षाका लागि हामी सबै लोकतन्त्र पक्षधर शक्तिहरुलाई एकताबद्ध हुन अपील गर्दछौं । आफु इतरका विचार पक्षधरलाई सरकारी तहबाट जसरी मानमर्दन गर्ने,आफु अनुकूल निर्णय गर्न प्रत्यक्ष आदेश दिने कार्यहरु लोकतान्त्रिक विधिमाथिको हस्तक्षेप हो ।
संघीय व्यवस्थाको भावना विपरित अधिकारहरुको केन्द्रीकरण गर्ने, शक्ति पृथकीकरणको सिद्धान्तलाई खिल्ली उडाउँदै स्वतन्त्र न्यायालयप्रति आक्रामक रुपमा प्रस्तुत हुने, संवैधानिक निकायलाई कार्यकारीको छायाँमा राख्ने, सरकार र पार्टी एकै जस्तो गरेर संचालन गर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायहरुलाई व्यवसायीक रुपमा संचालन गर्नुको सट्टा पार्टीप्रतिको प्रतिवद्धताका आधारमा चलाउने प्रवृत्ति स्पष्ट रुपमा प्रकट भएका छन् ।
यस्ता हर्कतहरु वर्तमान संविधानलाई विफल पर्ने षडयन्त्रको रुपमा भैरहेका त छैनन् रु दुई तिहाई बहुमतको आडमा संविधानका मुलभूत संरचनालाई भत्काउने, लामो संघर्षबाट प्राप्त उपलब्धिहरुलाई समाप्त पार्न उद्धत तत्वहरुलाई सहयोग पुर्याउन यस्ता गैर संवैधानिक कार्यहरु भैरहेको खतरातर्फ हामी सचेत गराउन चाहन्छौं ।

३. देशका विभिन्न भागमा सरकारी संरक्षणमा बढ्दै गएको भौतिक आक्रमण, रोल्पामा तरुण दलका जिल्ला अध्यक्षको हत्या ,अलग विचार राख्ने कांग्रेस एवं अन्य दलका नेता कार्यकर्तामाथि सुनियोजित अभियोग लगाउने , गिरफ्तार गर्ने , मुद्दा चलाउने जस्ता राज्यआतंकको घोर भत्सर्ना गर्दै दुरासयपूर्ण यस्ता गतिबिधि तत्काल बन्द गरी नागरिक अधिकारको पूर्ण सुरक्षाको प्रत्याभूतिका लागि यसै ज्ञापन पत्र मार्फत स्मरण गराउन चाहन्छौं ।

४. मुलुकमा कानुनी शासन,मानव अधिकार र सामाजिक सुरक्षाको प्रत्याभूतिको ग्यारेन्टी सरकारबाट हुन्छ भन्ने विश्वास आम नागरिकमा गुम्दै गएको छ । कंचनपुरकी निर्दोष र अवोध बालिका निर्मला पन्तको बलात्कार र हत्याको आजका मितिसम्म कुनै तथ्य र त्यस्तो जघन्य अपराधमा संलग्नहरुको पहिचान र कारवाही गर्न नसक्नु वर्तमान सरकारमाथिको कालो धब्बा मात्र होइन,सरकारी संयन्त्रको निकम्मापन पनि हो । जसको नैतिक जिम्मेवारी सरकार प्रमूखको रुपमा तपाईंले लिनुपर्ने हुन्छ । यसका अलावा देशका अन्य भागमा पनि यस किसिमको घटना जारी रहनु,निर्दोष किशोरीहरुमाथि एसिड आक्रमण हुनु,बलात्कार र अन्य सामाजिक दुर्व्यवहार हुनु राज्य संयन्त्रको कमजोरी हो भन्ने हाम्रो ठहर छ ।
हामी यस्ता जघन्य अपराधमा संलग्न सबैको कडा कारवाहीका लागि यसै ज्ञापन पत्र मार्फत सरकार समक्ष अनुरोध गर्दछौं ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
जुन आशा,अपेक्षा,विश्वास र उमंगका साथ तपाईंलाई दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्रीको रुपमा हामीले स्वागत गरेका थियौं,त्यो विश्वासमा छोटो अवधिमा नै तपाईं,तपाईंको मन्त्रीपरिषदका सदस्यहरुका व्यवहार,गतिवधि,अभिव्यक्ति र कार्यशैलीका कारण कुठाराघात भैसकेको छ ।

-तपाईं र तपाईं नेतृत्वको सरकारका कतिपय जिम्मेवार सदस्यहरुले विदेशमा बसेका हामी नेपालीहरुप्रति गरेको टिप्पणी अत्यन्त निकृष्ट छ । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार रेमिट्यान्स मुलुकमा भित्र्याउने र आर्थिक गतिविधिलाई गतिशील बनाउन सकेको योगदान गर्ने हामी विदेशमा रहेका नेपालीहरु नै हौँ । तर हामीलाई भूतपूर्व नेपाली भनी अपमान गर्ने,हाम्रो योगदानको अवमूल्यन गर्ने र विश्वभरका नेपालीहरुलाई अपमानित गर्ने जुन कार्य तपाइँ नेतृत्वको मंत्रीपरिषदका जिम्मेवार सदस्यबाट भएको छ,त्यसले विदेशमा बसेका नेपालीहरुप्रति वर्तमान सरकारको दृष्टिकोण अत्यन्त नकारात्मक रहेको छ भन्ने हाम्रो ठहर छ । हामी यसरी गलत रुपमा आफुहरुलाई अपमानित गर्ने सरकारी रबैयाको निन्दा र भर्त्सना गर्दछौं ।

–वर्तमान सरकार गठन भए यता जनताले पटकपटक मूल्यवृद्धिको पीडा सहनु परेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले उपभोक्ताको ढाड सेकेको छ । दैनिक उपभोग्य वस्तुको चरम मूल्यवृद्धि नियन्त्रण गर्न,जनतालाई सहुलियत दिन सरकार असफल हुँदै गएको छ । सरकारले जनताको शान्तिपूर्ण भेला भएर बोल्न र हिंडडुल गर्न पाउने स्वतन्त्रतामा प्रहार गरेको छ । यस्ता कार्यहरु जनविरोधी,दम्भयुक्त र कम्युनिष्ट अधिनायकवादको पूर्व अभ्यास हुन् जसका विरुद्ध हामी खबरदारी गर्छौं ।

–सुनकाण्डका अभियुक्तलाई पहिचान गर्न नसक्नु,सिन्डिकेट खारेज गर्ने घोषणालाई प्रचारात्मक मात्र बनाउनु,समयमा काम नगर्ने,नसक्ने ठेकेदारहरुलाई पक्रने र कारवाही गर्ने प्रोपोगान्डा मच्चाउनु जस्ता कार्यहरु जसले वर्तमान सरकारप्रति चरम अविश्वास मात्र सिर्जना गर्यो । प्रक्रियागत रुपमा यी प्रयासहरु आज शक्तिको सौदाबाजीका विषय बने । राज्य कसैप्रति अति पूर्वाग्रही बन्यो भने कसैका प्रति राज्य अतिरन्जित रुपमा पक्षपोषक । जुन कार्य दुई तिहाइको दम्भमा गरियो । यसले राज्य संचालकहरु असहिष्णु बन्दै गरेको उदाहरण दिएको छ ।

–वर्तमान संविधान अनुसार संघीय र प्रदेश संसदमा सभामूख र उप सभामूख एकै दलको हुनु नहुने भनि व्यवस्था गरेको छ । तर यो संबैधानिक व्यवस्थालाई समेत तपाईं नेतृत्वको सरकार र तपाईंकै नेतृत्व रहेको बहुमत प्राप्त दलले ठाडो उल्लङ्घन गरेको छ । जसले तपाईंहरु संसद र संविधानमा उल्लेखित व्यवस्थालाई समेत स्वीकार गर्नु हुन्न भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

–अहिले सरकारका तर्फबाट तयार गरिएको नागरिकता ऐन संशोधन विधेयकमा गैर आवासीय नेपालीलाई दिइने नागरिकता लिनका लागि जे जस्तो कानुनी प्रावधान मस्यौदामा राखिएको छ त्यसका प्रति नेपाली जनसम्पर्क समिति,अमेरिका आपत्ति प्रकट गर्दछ । सार्क राष्ट्र बाहेकका नेपाली जसले विदेशी नागरिकता लिएका छन् र उनीहरुले पुनः नेपाली नागरिकता लिनका लागि नेपाली नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्नेछ भन्ने व्यहोराका प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नागरिकता व्यक्तिको अधिकारको विषय हो । नागरिकता ऐन २०६३ पनि विदेशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता कायम नरहने व्यवस्था गरिएको छ । यस्तो अवस्थामा नेपाली नागरिकता स्वतः खारेज हुनेछ । तर सरकारले अहिले एनआरएन नागरिकता पाउनका लागि वंशजको आधारमा लिएको पुरानो नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्ने भन्ने जुन प्रावधानको व्यवस्था गर्न लागेको छ, यो व्यवस्था विदेशमा बस्ने नेपालीहरुलाई नागरिकता नदिने गरी कानुनी भाषा मिलाएर समस्या सिर्जना गर्न लागिएको अर्थमा हामीले बुझेका छौं । दोश्रो देशको नागरिकता लिइसकेपछि नेपालको पुरानो नागरिकता स्वतस् खारेज हुने हुनाले वर्तमान सरकारका तर्फबाट तयार गरिएको विधेयकमा नागरिकता त्यागेको प्रमाण माग्नु भनेको अन्ततः गैर आवासीय नेपालीहरुलाई नागरिकता नै दिन नचाहेको हो भन्ने हाम्रो ठहर छ ।

अमेरिका, क्यानडा जस्ता मुलुकमा पुरानो नागरिकता त्यागेको प्रमाण विना नै आवश्यक कानुनी प्रावधान पुर्याएर नागरिकता लिन सक्ने व्यवस्था छ । तसर्थ अहिले मस्यौदामा समावेश यस्तो बुँदा तत्काल हटाइयोस् र सहज रुपमा गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरियोस् भनि हामी ज्ञापन पत्रका साथ जोडदार माग गर्दछौं ।

साथै विदेशमा रहेका नेपाली नागरिकहरुलाई आफु बसेको देशबाट मतदान गर्ने अधिकारका लागि पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । यसका लागि सरकारले आवश्यक पहल गरेर आफ्ना नागरिकलाई मतदान प्रक्रियामा सहभागी हुने अवसर उपलब्ध गराओस् भन्ने हाम्रो माग रहेको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं आफैं भन्नुहुन्छ म नाफाको जिन्दगी बाँचेको छु र राष्ट्रहित र देशका लागि सकेको योगदान गर्ने बाहेक मेरो कुनै स्वार्थ छैन । तर तपाईंको भनाईमा विश्वासको संकट चुलिदै गएका कारण हामी खबरदारीस्वरुप यो ज्ञापन पत्र पेश गर्छौं । हामी देख्न चाहन्छौं, दुई तिहाइ बहुमतको सरकारले सबैलाई विकासको यात्रामा हिड्ने बाटो बनाओस् न कि दम्भ,अहंकार र प्रतिशोध साँध्ने हतियार । जीवनको यो महत्वपूर्ण घडीमा तपाईं सच्चा देशप्रेमी र सफल नेता बन्नु होस् हामी शुभकामना दिन चाहन्छौं तर संसदीय व्यवस्थामा विपक्षीलाई पनि विश्वासमा लिएर अघि बढ्नु राम्रो हुन्छ र लोकतन्त्रको सुन्दर पक्षलाई पनि ध्यान दिनुपर्छ भन्ने हेक्का समेत राख्नु हुन हामी स्मरण गराउन चाहन्छौं । दुई तिहाई बहुमतको सरकारी दम्भ, हठ र संवैधानिक मूल्य, मान्यता र विधिको शासन विरुद्धका सबैखाले हर्कत अनि अधिनायकवादी कार्यशैलीको विरोध स्वरुप यो ज्ञापन पत्र पेश गर्दछौं ।

धन्यवाद, जय नेपाल ।
आनन्द विष्ट
सभापति
मुनिन्द्र नेम्वाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका