पत्रपत्रिका

निर्मला हत्याकाण्डबारे सनसनीपूर्ण खुलासाः डिएनए टेस्ट प्रहरीकै ल्याबमा

काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा आशंका गरिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र किरणका साथी आयुष विष्टको डिएनए रिपोर्ट आएको छ । परीक्षणले उनीहरूलाई सफाइ दिएको छ ।

निर्मलाको शवबाट संकलित नमुना आफूँसँगै राखेर प्रहरीले आशंका गरिएका तीनजनाको रगतको नमुना मात्र केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाएको थियो । रगतका आधारमा विधिविज्ञानले तीनजनाको डिएनए विश्लेषण गरेर रिपोर्ट प्रहरीलाई नै पठायो ।

प्रहरीले आफ्नो प्रयोगशालामा विश्लेषण गर्दा दुईथरी नमुना म्याच नभएको ठहर गर्‍यो ।

निर्मलाको शवबाट संकलित नमुना पनि पाएको भए विधिविज्ञानले नै म्याच गर्छ कि गर्दैन भनेर किटान गर्न सक्थ्यो । तर, निर्णायक काम प्रहरी आफैँले गर्‍यो ।

‘आशंका गरिएका तीनैजनाको डिएनए परीक्षण गरेर विधिविज्ञान प्रयोगशालाले प्रहरीलाई पठायो, प्रहरीको प्रयोगशालाले परीक्षण गर्दा दुईथरी डिएनए म्याच भएन,’ कञ्चनपुरका एसपी कुवेर कडायतले भने ।

आरोपी प्रहरी र उनका आफन्त निर्दोष हुन सक्छन् । तर, उनीहरूलाई सफाइ दिन सरकार किन यति गैरजिम्मेवार बन्यो भन्ने प्रश्नको जवाफ छैन ।

जनतालाई विश्वासमा लिन सरकारले आवश्यक ठानेकै छैन । निर्मलाको शव पखाल्ने, उनका कपडा धुने, अचानक जलाउने र नक्कली अभियुक्त खडा गर्ने प्रहरी अधिकारीको मनसाय के हो ?, यो खबरलाई आजको नयाँ पत्रिकाले मुख्य खबर बनाएर छापेको छ ।