सुदूरपश्चिम

सुदूरपश्चिमको राजधानीको भौतिक संरचना निर्माण गर्न डिपीआर यसै आवमा

अत्तरिया । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीमा भौतिक संरचना निर्माणका लागि चालू आर्थिक वर्षभित्रै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी प्रक्रिया अघि बढाइने भएको छ ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकले दुई तिहाइको निणर्यबाट प्रदेशको नाम सुदूरपश्चिम र राजधानीको स्थान गोदावरीलाई पारित गरेपछि भौतिक संरचना निर्माणका गर्न डिपीआरको प्रक्रिया अघि बढाइने प्रक्रिया शुरु भएको हो ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता प्रकाश शाहका अनुसार चालु आव वर्षभित्रै प्रदेशको स्थायी राजधानी तोकिएको स्थान गोदावरीमा भौतिक संरचना निर्माणका लागि डिपीआर तयार गरिनेछ ।

चालू आवमा डिपीआर तथा भौतिक संरचना निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिने प्रवक्ता शाहले जानकारी दिए ,।

उनले प्रदेशसभाको बैंठकले दुई तिहाइ बहुमतबाट प्रदेशको नामकरण र स्थायी राजधानीको नामकरण टुङ्गो लगाइसकेकाले अब त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न प्रदेश सरकार लागिपरेको बताए ।

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीमा प्रदेश सरकारले आफ्नो समयावधिभित्रै भौतिक संरचना निर्माण गरी कार्यसम्पादनको शुरुआत गरिने लक्ष्य लिइएको प्रवक्ता शाहले जानकारी दिए ।