प्रदेश 2

झाडापखाला मत्थर, बस्ती सामान्य

बर्दिवास । लाग्दो असोजसँगै फैलिएको झाडापखाला मत्थर भएपछि महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्हीको मुश्लिम बस्ती सामान्य हुँदै गएको छ ।

असोज २ गते मङ्गलबारदेखि फैलिएको झाडापखाला निरन्तरको प्रयत्नबाट नियन्त्रण हुँदै गएपछि करीब दुई साता अस्तव्यस्त भएको मुश्लिम बस्ती बल्ल सामान्य हुँदै गएको हो ।

बस्तीमा अब नियमित उपचारका केही बिरामी भए पनि खतरामुक्त रहेका जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । करीब दुई सातासम्मको झाडापखालाले सो बस्तीका दुईको ज्यान गएको छ । प्रकोप शुरु भएलगत्तै चार वर्षीया बालिका खुश्वु खातुन र असोज दोस्रो साताको प्रारम्भमा ६० वर्षीया अइसा खातुनको प्रकोपमा परी ज्यान गएको हो ।

प्रकोप शुरु भएलगत्तै बस्तीमा जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले औषधि र दक्ष चिकित्सक टोली परिचालित गरेर दुई ठाउँ शिविर चलाएको थियो । जम्मा ३०० घरधुरी रहेका सो बस्तीका २५० भन्दा बढीको उपचार गरिएको जलेश्वर अस्पतालका मेडिकल सुपरिटेण्डेण्टसमेत रहनुभएका कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा राजीव झाले जानकारी दिए ।

यसअघि खेतमा मारिएका भुरा माछा खाँदा प्रकोप फैलिएको भनिँदै आए पनि त्यहाँको खानेपानी पनि दूषित रहेको प्रमाणित भएको छ । सो बस्तीमा पिउने पानीको नमूना परीक्षण गर्दा दिसामा पाइने इकोलाई र कोलिफार्म नामक ब्याक्टेरिया (किटाणु) पाइएपछि झाडापखालाको दूषित पानी पनि कारण रहेको पुष्टि भएको हो ।

बस्तीमा खान प्रयोग गरिने पानीको नमूना परीक्षण गर्न राष्ट्रिय स्वास्थ्य प्रयोगशाला पठाइएको र त्यहाँबाट रिपोर्ट आएपछि नयाँ तथ्य पुष्टि भएको डा झाले बताउनुभयो ।

मुश्लिम बस्तीमा खानेपानीका लागि चापाकल (हाइण्डपाइप) प्रयोग गरिँदै आइएको थियो । जम्मा १२५ फिट मात्र गहिरो सतहको पानी सो बस्तीमा खान प्रयोग गरिँदा किटाणुयुक्त पानी परेको प्रतिवेदनमा उल्लेख छ ।

अब त्यहाँका सबै चापाकलको पानी खान बन्द गरेर थप गहिराइको मुहान धमाधम बनाइँदैछ । करीब २०० फिटभन्दा गहिरोको पानी प्रयोग गरिने विज्ञले सुझाएका छन् । अब विज्ञकै समतिअनुसार २०० फिट गहिरो मुहानको पानी बस्तीमा व्यवस्था गरिने सो वडाका वडाअध्यक्ष रामतपेश्वर ठाकुरले बताए ।