अन्तर्राष्ट्रिय

म्यासेडोनियामा मतदान शुरु

स्कोप्ज । ग्रीससँग लामो समयदेखि चलिआएको विवाद सुल्झाउने उपाय स्वरुप म्यासेडोनियालाई उत्तरी म्यासेडोनिया नामकरण गर्ने वा नगर्ने भन्ने विषयमा आइतबार मतदान हुँदैछ । साथै, यो चुनावले नेटो र युरोपेली युनियनको सदस्यताका लागि म्यासेडोनियालाई बाटो खुला हुनेछ ।

सन् १९९१ मा छुट्टै राष्ट्रको मान्यता पाएसँगै म्यासेडोनियाले पहिचानका लागि सङ्घर्ष गरिरहेको छ । युगोस्लाभियाबाट टुक्रिएर म्यासेडोनिया बनेको थियो ।

म्यासेडोनिया नाम राख्नासाथ आफ्नो मुलुकको प्रान्तको नामसँग मिल्दोजुल्दो भएको जनाउँदै ग्रीसले बिरोध गरिआएको छ । ग्रीसको उत्तरी भागमा अद्यापी म्यासेडोनिया प्रान्त छ ।

नामको विषयमा रहेको यो विवाद नसुल्झेको तीन दशक भइसक्यो । दुबै मुलुकले म्यासेडोनियासँग भावनात्मक र ऐतिहासिक सम्बन्ध रहेको दबी गरिरहेका छन् ।

गत जुन महिनामा म्यासेडोनियाका नयाँ प्रधानमन्त्री जोरान जाएभ र उहाँका ग्रीसेली समकक्षी अलेक्सिस चिप्रासबीच म्यासेडोनियाले नाम परिवर्तन गरेमा युरोपेली युनियन र नेटोको सदस्यतामा ग्रीसले कुनै अबरोध नगर्ने सहमति भएको छ । आइतबार, यो सम्झौताको पक्ष वा विपक्षमा मतदान हुनेछ ।

अर्को मुलुकको अनुरोधमा मुलुकको नाम नै परिवर्तन स्वीकार्य नहुने केही मतदाता र दलहरुको धारणा छ ।
पश्चिमा मुलुकसँगको भावी सम्बन्ध र त्यहाँको सम्बन्धबाट मुलुकमा आउन सक्ने आर्थिक समृद्धिको आशा धेरै जनतामा पलाएको छ । युरोपेली क्षेत्रको म्यासेडोनिया आर्थिक रुपमा कमजोर र गरिब छ ।

“हामी सबैलाई यो सम्झौता ठीक हो जस्तो लाग्दैन, तर युरोपेली युनियन र नेटोसँगको सम्बन्ध हाम्रा लागि निकै महत्वपूर्ण हुन थालेको छ, त्यसैले अघि बढ्नुको विकल्प छैन,” २८ वर्षीय मतदाता अबेडिन मेमेटीले बताए ।

हुनत यो जनमत सङ्ग्रह बाध्यकारी होइन, तर बहुमतले “हुन्छ” भनेमा त्यसले संसदलाई संविधान संशोधनमा राजनीतिक जनादेश प्राप्त हुनेछ ।

यदि यसलाई जनमत सङ्ग्रहबाट पारित गरियो र संसदको दुई तिहाइबाट पारित भएमा ग्रीक संसदले पनि अन्तिम स्वीकृति दिनेछ ।

नाम परिवर्तनका सन्दर्भमा सत्तापक्ष परिवर्तनको पक्षमा रहेको छ भने राष्ट्रपति जर्ज इभानोभ समेतले मतदान बहिस्कार गर्ने बताएका छन् । मतदानमा ५० प्रतिशतभन्दा कमले मात्र मतदान गरेमा यसको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने विपक्षीहरुको भनाइ छ ।

हालैका दशकहरुमा ठूलो संख्यामा म्यासेडोनियालीहरु अन्य देशमा आप्रवासीका रुपमा बसाइ सरेका छन् । यहाँको कूल २१ लाख जनसंख्यामध्ये झण्डै एक चौथाइ विदेशमा छन् । विदेशमा रहेका ३ हजारभन्दा कमले मात्र मतदानका लागि रुचि देखाएको निर्वाचन आयोगले जनाएको छ ।

संयुक्तराज्य अमेरिका र युरोपले यो सम्झौताका लागि पहल गरेका थिए । नेटोले पहिल्यै मतदानका लागि युरोपमा छरिएर रहेका म्यासेडोनियालीलाई आग्रह गरिसकेको छ । युरोपेली युनियनको सदस्यताका लागि अर्को वर्ष वार्ता हुँदैछ ।

पश्चिमी बाल्कन क्षेत्रमा प्रभाव जमाउन पनि म्यासेडोनियालाई नेटो र युरोपेली युनियनले सदस्यता दिन चाहेका छन् । यो क्षेत्रमा विगत लामो समयदेखि रुसको प्रभाव रहिआएको छ ।

म्यासेडोनियामा मुख्यतः म्यासेडोनियाली र अल्पसंख्यक अल्बानियालीको बसोबास छ । यी दुई समुदायबीच बेलाबखत अधिकार र संरक्षणका सन्दर्भमा तनाब पनि हुने गरेको छ । –एजेन्सी