कर्णाली प्रदेश

जनार्दन शर्माको उपस्थितीमा ३१ घरपरिवारलाई राहत वितरण

मुसिकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको छ । यहाँका ३१ घरपरिवारलाई गृह मन्त्रालय अन्तर्गत केन्द्रीय प्राकृतिक प्रकोप उद्दार कोषबाट प्राप्त राहत रकम वितरण गरिएको छ । पूर्व गृहमन्त्री जनार्दन शर्माको उपस्थितिमा प्रतिपरिवार रु ५० हजारका दरले राहत रकम वितरण गरिएको हो । यसअघि जिल्ला प्राकृतिक प्रकोप उद्दार कोषबाट प्रतिपरिवार रु नौ हजारका दरले राहत वितरण गरिसकिएको थियो ।

यसपटक प्रतिपरिवार ४१ हजारका दरले राहत रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताए । यस वर्षको साउन, भदौमा परेको अबिरल वर्षापछिको पहिराले नगरपालिकाको ४, ९ र ११ वडाका ३१ घरपरिवार घरबारविहीन भएका थिए ।

उनीहरुको समस्याको स्थलगत अनुगमनपछि गृह मन्त्रालयबाट राहत माग गरी पठाएको र प्राप्त भएपछि वितरण गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । यसअघि प्रदेश सरकार, नगरपालिका र रेडक्रसको तर्फबाट समेत नगद तथा विभिन्न किसिमको राहत सामग्री वितरण गरिएको थियो । पहिरोका कारण पूर्ण रुपमा क्षति भएर घरबार विहीन बनेका यहाँका ३१ परिवारलाई प्रदेश सरकारका तर्फबाट प्रतिपरिवार २० हजारका दरले राहत वितरण गरिएको थियो । यस्तै नगरपालिकाले प्रति घरपरिवार पाँच हजार र नेपाल रेडक्रस सोसाइटी रुकुम शाखाले गैर खाद्य तथा बन्दोबस्तीका सामान वितरण गरेको थियो ।

अन्य स्थानीय तहमा भएको क्षतिको विवरण गृहमन्त्रालयमा पठाएर राहत माग गरिएको जिल्ला प्राकृतिक प्रकोप व्यवस्थापन समितिले जनाएको छ । यस वर्षको वर्षातले जिल्लाभर ३० करोड बढीको क्षति भएको समितिले बताएको छ ।