कर्णाली प्रदेश

आएका बिरामी औषधि नपाएर रित्तो हात घर फर्किदैँ

जाजरकोट । यहाँका सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयवासी हैरान भएका छन् । सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा महँगोमा औषधि किन्न बाध्य भएको स्थानीयको गुनासो रहेको छ ।

जिल्लाका दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थादेखि सुगममा रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा सर्वसाधारण मर्कामा परेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र दल्ली र लिम्सा, स्वास्थ्य चौकी कुदु, सिलिङ्गीचौर, स्वास्थ्य केन्द्र पुन्मा, दशेरालगायत दुई दर्जन ठाउँमा रहेका स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयवासी निजी मेडिकलको भर परेका छन् । चर्को मूल्य तिरेर निजी मेडिकलमा उपचार गर्दा आफूहरू हैरान भएको भेरी नगरपालिका–१३ का जुमना गिरीले बताए ।

स्थानीय तहले औषधि खरीद तथा आपूर्तिलाई बेवास्ता गर्दा अभाव भएको हो । स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामी औषधि नपाएर रित्तो हात घर फर्कने गरेका छन् । सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि उपलब्ध गराउने भने पनि हालसम्म ३० प्रकारभन्दा बढी औषधि उपलब्ध हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन् ।

औषधि खरीदका लागि वार्षिक बजेट नै कम हुँदा समस्या भएको हो । दुर्गम गाउँबाट अस्पतालमा आएका बिरामीलाई सामान्य चेकजाँच पछि निजी मेडिकलतिर औषधि किन्न पठाउनुपर्ने बाध्यता भएको जिल्ला अस्पतालले जनाएको छ । यहाँका स्वास्थ्य संस्थामा सिटामोल, ब्रोफिन, मेट्रो, एमोक्सिसिलिन, कोर्टिन, सालबुटामोल, पारासिटामोल सिरफ, भिटामीन बी कम्प्लेक्स, आरएल, क्योमक्सलगायत अति आवश्यक औषधिको अभाव छ । ज्वरो, आउ, रुघाखोकी, ग्यास्ट्रिक, पखाला, पेट दुख्नेलगायत रोगको औषधि अभाव भएको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीका प्रमुख डा सञ्जय यादवले बताए ।

त्यस्तै स्वास्थ्य संस्थामा गज, कटन, ग्लोब्स, आरएललगायत नभएको उनले बताए। दैनिक ६०/७० जना बिरामी उपचारका लागि आउने गरेका छन् । सुन्दर नेपाल संस्थाले गरेको सर्वेक्षणअनुसार निःशुल्क पाइने भनेका कुनै पनि औषधि स्वास्थ्य संस्थामा पाइदैनन् । भेरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र शर्माले पुन्माबाहेक अन्य स्वास्थ्य संस्थामा औषधि भएको दाबी गरे ।