मनोरञ्जन

थाई महोत्सवमा कूटनीतिक समुदायको चहलपहल बढ्यो

काठमाडौँ । राजधानीको पाँचतारे होटल साङ्ग्रिलाको विशाल पटाङ्गिनीमा बिहान १० बजेदेखि नै काठमाडौँमा रहेका कूटनीतिक समुदायका सदस्यको चहलपहल बढेको छ ।

थाइल्याण्ड र नेपालका जनताबीचको सम्पर्क र सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले यहाँस्थित थाई राजदूतावासले आयोजना गरेको थाई महोत्सवमा किनमेल गर्न र स्वादिला परिकारको मजा लिन उनीहरुले शनिबारको सदुपयोग गरेका हुन् ।

थाइल्याण्डका विश्वविद्यालय, अस्पताल, उत्पादनलगायत ३२ वटा बिक्रीकक्ष र विविध थाई परिकार पस्कने आठवटा ‘स्टल’ मा कूटनीतिक नियोगमा आबद्ध व्यक्तिमात्र होइन धुलिखेलमा नै निवास भएका काठमाडौँ विश्वविद्यालयका प्राज्ञको पनि बाक्लै जमघट भएको छ ।

थाइल्याण्डको परम्परागत नृत्यसँगै प्रारम्भ भएको महोत्सवको नेपालका लागि चीन, सङ्घीय गणतन्त्र जर्मनी, म्यान्मा, युरोपेली सङ्घको प्रतिनिधिमण्डल, अष्ट्रेलिया र इजिप्टका राजदूतसँगै राष्ट्रसङ्घका आवासीय समन्वयकर्ताले संयुक्तरुपमा उद्घाटन गरे ।

थाई पोशाक पहिरिएका राजदूत र अन्य कूटनीतिक अधिकारीले थाई नचरा– नचरीलाई छमछमी नाचेर साथ दिँदा महोत्सवस्थलको वातावरणमा रौनक छाएको थियो । अपराह्न ६ बजेसम्म जारी रहने महोत्सवको मजा लिन विशेष गरी कूटनीतिक नियोगका पदाधिकारीको उपस्थिति बढिरहेका छ ।

सो अवसरमा नेपालका लागि थाइल्याण्डका राजदूत भाकभट तान्सकुलले ५९ औँ वर्षदेखि थाइल्याण्ड र नेपालबीचको फलदायी मैत्रीपूर्ण सम्बन्ध जारी रहेको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध धर्म, संस्कृति, आर्थिक र पर्यटनजस्ता आयामबाट अझ सबल हुने बताए ।

शान्ति र समृद्धितर्फको यात्रामा अघि बढ्ने नेपालको प्रयासमा आफ्नो देशले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “दुई देशका जनताबीचको सम्बन्धलाई संस्कृति, खाना, थाई उत्पादन र सेवाले अझ निकट तुल्याएको छ ।”