शिक्षा

अनाथ बालबालिकाका लागि आवासीय विद्यालय

बाजुरा । अनाथ बालबालिकाका लागि नगरस्तरीय आवासीय विद्यालय सञ्चालन गर्ने भएको छ ।

बुबाआमा दुवै गुमाएका बालबालिकालाई लक्षित गरेर बाजुरा बडिमालिका नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित कुनै एक विद्यालयमा अनाथ बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन गर्न लागेको हो ।

विपन्न समुदायका अभिभावक गुमाएका बालबालिकालाई शिक्षामा सहज पहुँच पु¥याउन र उनीहरूको जीवन सुरक्षा, गुणस्तीय शिक्षाका लागि आवासीय विद्यालय सञ्चालन गर्न लागिएको नगर प्रमुख पदम बडुवालले बताए ।

असाहय, अनाथ र टुहुरा बालबालिकाका लागि सधैँ अरुसँगै अनुरोध गर्नुपर्ने तथा अभाव र समस्याका कारण त्यस्ता बालबालिकाका बिचल्लीमा परेको खबर सुन्नुपर्ने समस्यालाई हटाउन नगरपालिकाले आवासीय विद्यालय सञ्चालन गर्न लागेको प्रमुख बडुवालको भनाइ छ ।

विद्यालय सञ्चालनका लागि पहिलो चरणमा अनाथ बालबालिकाको तथ्याङ्क सङ्कलन गर्ने र यस सम्बन्धी कार्यविधि बनाएर काम शुरु गर्ने उपप्रमुख कविता विष्टले बताए ।