पर्यटन/संस्कृति

गुँ विहार निर्माण अन्तिम चरणमा

साँखु । शङ्खरापुर नगरपालिकाको साँखुबाट उत्तरतिर मणिचुड पर्वतस्थित बज्रयोगिनी मन्दिर (गुँ विहार) पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ ।

२०७२ वैसाख १२ गतेको महाभूकम्पले पूर्णरूपमा क्षति बनाएको साँखुकोे प्राचीन ऐतिहासिक मन्दिर निर्माणले तीव्रता पाएपछि निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेको हो । तेस्रो तलासम्म निर्माण गरिने उक्त मन्दिर पुरातत्व विभागले निर्माण शुरु गरेको थियो ।

बहुवर्षीय योजनाअनुसार निर्माणकार्य भइरहेको मन्दिर दुई वर्ष अघिदेखि पुनःनिर्माण थालिएको हो । अहिले मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा छ । मन्दिर निर्माणमा खटिएका पुरातत्व विभागका इञ्जिनीयर पूर्णबहादुर श्रेष्ठका अनुसार मन्दिरको तेस्रो अन्तिम तला निर्माण हुँदै छ । मन्दिरको पहिलो तलामा मुसी हाल्ने काम भइरहेको छ भने अन्य फिनिसिङ सकिएको छ ।

श्रेष्ठले मन्दिरको पुनःनिर्माण पुसभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको जानकारी दिए । पुनःनिर्माण शुरु भएदेखि जेठसम्ममा रु ९० लाख लागत लागिसकेको उनले जानकारी दिए ।

पुरातत्व विभागकी पुरातत्व अधिकृत सविता न्यौपानेका अनुसार यस वर्ष मात्रै बज्रयोगिनी मन्दिर निर्माणको लागि रु तीन करोड ६४ लाख ७५ हजार बजेट विनियोजन भएको छ ।

नेपालको झण्झटिलो टेण्डर प्रक्रियाले पुनःनिर्माण प्रक्रिया केही ढिला भएको पुरातत्व विभागले जनाएको छ ।

राजधानीबाट नजिकै रहेकोे पुरातात्विक महत्वको बस्ती साँखुमा भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा समेत मन्दिरको पुनःनिर्माण नुहुँदा स्थानीय बासिन्दा भने असन्तुष्ट बनेको स्थानीय सङगिता श्रेष्ठ बताउछन् । “मन्दिर पुनःनिर्माण नहुँदा मन्दिर आवतजावतमा धेरै समस्या छ, पूजापाठ गर्न जाँदा समेत समस्या हुने गरेको श्रेष्ठले गुनासो राखे ।

यहाँ बौद्ध र हिन्दू परम्परानुसार देवीको पूजाआराधना गर्ने गरिन्छ ।

यहाँ उपत्यका र वरिपरि जिल्ला सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोकलगायतका भक्तजनले तान्त्रिक देवीको रूपमा बज्रयोगिनीको आराधना गर्ने गर्छन् । मन्दिरमा बज्रयोगिनी, उग्रतारा, सिंहबाहिनीका मूर्तिहरू देख्न सकिन्छ ।

यहाँ गएर भगवतीको दर्शन गर्नाले मनोकामना पूर्ण हुने, दुःख पीडा नष्ट हुने, वर्षौदेखिका अधुरा काम बन्ने, सन्तानलाई सुख प्राप्ति हुने जनविश्वास रहिआएको छ । भूकम्पले पूर्णरूपमा क्षतिग्रस्त बनाएको १० लिच्छविकालीन ऐतिहासिक सम्पदा पुनःनिर्माण हुँदैछन् ।

पुरातत्व विभागका अनुसार क्षतिग्रस्त भएको सम्पदामा बज्रयोगिनी मन्दिर, खड्गयोगिनी मन्दिर, माधवनारायण द्यौंछें, न्ह्यायंक सत्तल ९माइको घर०, सुन्टोलको माइघर मन्दिर, पद्मगिरी धर्मधातु चैत्य महाविहार, बज्रयोगिनी बसुन्धरा माई, नारायण मन्दिर, कृष्ण मन्दिर र योगेश्वर ज्योतिलिङ्गेश्वर मन्दिर रहेका छन् ।