सुदूरपश्चिम

‘सुदूरपश्चिम’ प्रदेश नामांकरणपछि यस्ता देखिए कतै बिरोध र कतै उत्शवका स्वरहरु !

धनगढी । प्रदेश नं ७ प्रदेशसभाको शुक्रबार बसेको दोस्रो बैठकले प्रदेशको स्थायी राजधानी रहने स्थान र नामाङ्कनसम्बन्धी प्रस्तुत प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको छ ।

बैठकमा प्रदेश नं ७ को स्थायी राजधानी र नामाकरणका सम्बन्धमा सत्ता पक्षका संसदीय दलका प्रमुख सचेतक तामाङले प्रस्ताव प्रस्तुत गरेका थिए भने सत्तापक्षकै सदस्य वीरमान चौधरी र शान्ति नेपालीले त्यसलाई समर्थन गरेका थिए ।

बैठकमा उक्त प्रस्तावलाई निर्णयार्थ पेश गर्ने क्रममा अपनाइएको मत सङ्कलनमा (मत विभाजन प्रक्रिया) प्रस्तावको पक्षमा ३८ र विपक्षमा शून्य मत परेको थियो । प्रतिपक्षी काङ्ग्रेस र राजपाले शुक्रबरको बैठक बहिष्कार गर्दै मतदानमा भाग लिएनन् ।

सभामुख अर्जुनबहादुर थापाले बैठकमा प्रदेशसभामा तत्काल कायम ५३ जना सदस्यमध्ये प्रस्तावको पक्षमा प्राप्त ३८ मत (दुई तिहाइ बहुमत) भएको र विपक्षमा शून्य मत परेकाले उक्त प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको घोषणा गरे ।

प्रदेशसभामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा गठित पाँच सदस्यीय विशेष सुझाव समितिले कैलालीको गोदावरी नगरपालिका २ र ४ मा पर्ने तेघरीलाई स्थायी राजधानी बनाउन र प्रदेशको नाम ‘सुदूरपश्चिम प्रदेश’राख्ने सुझावसहितको प्रतिवेदन प्रदेशसभाको मङ्गलबारको बैठकमा प्रस्तुत गरेको थियो ।

बहिष्कारका बीच प्रस्ताव पारितः

प्रतिपक्षी काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यले बैठक बहिष्कार गर्दै सभाबाट बाहिरिएको अवस्थामा स्थायी राजधानी रहने स्थान र नामाङ्कनको विषयसम्बन्धी प्रस्तावको टुङ्गो लगाइएको हो ।

यसअघि प्रतिपक्षी सदस्यले दोस्रो बैठक प्रारम्भ हुनासाथ आआफ्नो स्थानबाट उभिएर विरोध गरेका थिए । सभामुखले बोल्न समय दिएपछि राष्ट्रिय जनता पार्टीका मालामतिकुमारी राना थारुले प्रदेश नं ७ को इतिहास कोर्ने सन्दर्भमा प्रदेशको स्थायी राजधानी र नामाकरणका सम्बन्धमा गठित सुझाव समितिमा राजपालाई समावेश नगरी अपमान गरिएकाले सुझाव समिति अपूर्ण र अवैधानिक भएको जिकिर गरिन् ।

उनले विशेष सुझाव समितिमा राजपाको प्रतिनिधित्व नभएसम्म बैठक बहिष्कार गरिएको धारणा राखेपछि राजपा र काङ्ग्रेसका सदस्य बैठक कक्षबाट बाहिरीएका थिए ।

यसअघि भएको पहिलो बैठकमा प्रतिपक्षी नेपाली काङ्ग्रेसका सदस्यले रोष्टम अगाडि उभिएर नाराबाजी गर्दै अवरुद्ध पारेका थिए ।

प्रतिपक्षी काङ्ग्रसको पत्रकार सम्मेलनः

प्रदेश नं ७ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस संसदीय दलले शुक्रबर साँझ पत्रकार सम्मेलन गरी प्रदेशको स्थायी राजधानी रहने स्थान र नामाङ्कनको टुङ्गो लगाउँदा अपनाइएको प्रक्रिया संविधान र संसदीय प्रजातन्त्रको मूल्य मान्यता विपरीतको काम भएको प्रतिक्रिया दिएको छ ।

संसदीय दलका नेता डा रणबहादुर रावलले प्रतिपक्षीको उपस्थितिबिना कुनै पनि लोकतान्त्रिक देशका संसद्ले निर्णय नगर्ने गरेको भन्दै प्रदेश नं ७ को प्रदेशसभामा सत्ता पक्षले दुई तिहाइको दम्भमा निर्णय गरेको आरोप लगाए ।

प्रतिपक्षीको अनुपस्थितिमा प्रदेशसभाले मतदानको प्रक्रियाद्वारा कुनै महत्वपूर्ण निर्णय गरेको विषयको कानूनी वैधानिकता के हुन्छ भन्ने प्रश्नमा प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले यो विषयमा संविधान र कार्यव्यवस्था नियमावली मौन रहेको बताए ।

प्रदेशसभा भवन बाहिर दिनभरि नाराबाजीः

स्थायी राजधानी रहने स्थान र नामाङ्कनको टुङ्गो लगाउने कार्यसूची तोकिएपछि शुक्रबर प्रदेशसभा भवन धनगढी अगाडिको मूल ढोकामा प्रस्तावित स्थायी राजधानी रहने स्थानको विरोधमा स्थानीयवासीले दिनभरि घेराउ र नाराजबाजी गरेका थिए ।

कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीः

हालको अस्थायी राजधानी धनगढीबाट झण्डै १७ किलोमिटर उत्तरतर्फ चुरेपहाडको फेदीमा रहेको गोदावरी नगरपालिकाको वडा नं २ र ४ मा पर्ने तेघरीको जङ्गल क्षेत्रमा स्थायी राजधानी बनाउने प्रस्ताव शुक्रबार प्रदेशसभाको बैठकले पारित गरेको छ ।

दुई तिहाइ बहुमतले पारित भएको प्रस्तावसँगै तेघरीस्थित नेपाली सेनाको ब्यारेक रहेको स्थानबाट उत्तरपश्चिम, धनगढी–डडेलधुरा राजमार्गदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्वगोदावरी बजारदेखि दक्षिणमा पर्ने चार किल्लाभित्र प्रदेश नं ७ को स्थायी राजधानी स्थापना गरिने निश्चित भएको छ ।

स्थायी राजधानी बनाइने स्थान तेघरीबाट झण्डै तीन किलोमिटर उत्तरतर्फ चुरे पहाडको खोचमा रहेको गोदावरी क्षेत्र ‘सुदूरपश्चिम प्रदेश’को मुख्य तीर्थस्थलका रुपमा रहेको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको मुख्य प्रवेशद्वारका रुपमा रहेको गोदावरी क्षेत्रलाई राष्ट्रिय तीर्थस्थल एवं प्रमुख धार्मिक पर्यटन गन्तव्यस्थल बनाउने पहल केही वर्षदेखि थालिएको छ । यस क्रममा गोदावरी क्षेत्रमा हरेक वर्ष माघे सङ्क्रान्तिको समयमा कुम्भ मेला पनि गरिँदै आएको छ । विभिन्न धार्मिक संरचना पनि त्यहाँ निर्माण भएका छन् ।

गोदावरी नदी छेउमा मन्दिर, धर्मशाला, बौद्ध गुम्बा रहेका छन् । यहाँ हरेक वर्ष माघे सङ्क्रान्तिका दिन ठूलो मेला पनि लाग्ने गरेको छ । धनगढी–डडेलधुरा राजमार्गको छेउमै रहेको यो क्षेत्रलाई सप्त गोदावरीमध्येको प्राचीन गोदावरीका रुपमा लिने गरिन्छ ।

बृद्ध गौतमीका नामले समेत चिनिने यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको हो भन्ने स्कन्द पुराणमा उल्लेख गरिएकाले पनि यसको धार्मिक महत्व ठूलो रहेको छ । यसका साथै गोदावरीमा भगवान् राम भीष्मपितामह र पाण्डवले पनि स्नान गरेको किंवदन्ती छ ।

संरक्षण प्रेमीको असहमतिः

स्थायी राजधानीका लागि छुट्याइएको ठाउँ तेघरीको जङ्गल क्षेत्र मोहना नदी करिडर र जैविक विविधतासँग जोडिएको भन्दै संरक्षण प्रेमीले चिन्ता व्यक्त गरेका छन् । जङ्ग फँडानी गरेर राजधानी बनाउने प्रस्ताव पारित गरिएबाट भविश्यमा चुरेको संरक्षणका साथै मोहना करिडरका लागि गम्भीर समस्या निम्त्याउने एक जना संरक्षण प्रेमी राज ऐरले बताए ।

सुदूरपश्चिम प्रदेशः

शुक्रबारको प्रदेशसभाको बैठकले प्रदेशको नाम ‘सुदूरपश्चिम प्रदेश’ राख्ने प्रस्तावसमेत पारित गरेको छ । विसं २०३८ मा नेपालको पाँचौँ विकास क्षेत्रको रुपमा सेती र महाकाली गरी दुई अञ्चललाई समेटेर केन्द्र डोटीको दीपायल रहने गरी सुदूरपश्चिमाञ्चल विकास क्षेत्र बनाइएको थियो ।

वर्षौंदेखि साविक सुदूरपश्चिमाञ्चलको विकास क्षेत्र केन्द्रका रुपमा रहेको दीपायलमा रहेका क्षेत्रीय कार्यालय र अन्य कार्यालय स्थानान्तरण नगरी ती कार्यालयको सेवा यथावत राख्ने सुझाव समितिको छ ।

प्रदेशको एकता, संस्कृति, विकास र समृद्धिको पक्षलाई दृष्टिगत गरी प्रदेशको नामाङ्कन गरिएको सुझाव समितिका सदस्यको भनाइ छ । सेती र महाकाली अञ्चलका नौ जिल्ला रहेको यो सुदूरपश्चिम प्रदेशको क्षेत्रफल १९ हजार ५३९ वर्ग किलोमिटर छ । २५ लाख ५२ हजार ५१७ जनसङ्ख्या रहेको यो प्रदेशको उत्तरमा चीन, पश्चिम र दक्षिणमा भारत, पूर्वमा प्रदेश नं ५ र कर्णाली प्रदेश रहेको छ ।

तराई, पहाड र हिमालको संगमका रुपमा रहेको यो प्रदेशको विशिष्ट खालको भौगोलिक विशेषता छ । पश्चिमी सीमा क्षेत्रको महाकाली र पूर्वी सीमा क्षेत्रको कर्णालीसहित सेती, चमेलिया, ठूली गाड, बूढीगङ्गाजस्ता ठूला नदी यसै प्रदेशमा छन् ।

तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर अन्न भण्डारका जिल्ला हुन् भने पहाड र हिमालका दार्चुला, बैतडी, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम र डोटी जिल्ला जडीबुटीका लागि धनी मानिन्छन् ।

नेकपाका अधिकाँस नेता कार्यकर्ताहरुले राजधानी सार्ने र नामाँकरण गर्ने कार्यको स्वागत गर्दै उत्शव मनाएका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, राजपा लगायतले उक्त कार्य अबैज्ञानिक भएको भन्दै बिरोध जनाएका छन् ।