समाचार

मानवीय सुरक्षाका लागि असल निर्माणको अभ्यास

काठमाडौँ । भूकम्प पछिको पुनः निर्माण जारी रहेका बेला मानवीय सुरक्षाका लागि असल निर्माणको अभ्यास गरिनुपर्नेमा जोड दिइएको छ । असल निर्माणको अभ्यासका लागि नेपाल इञ्जिनियर्स एशोसिएशन, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी अलुम्नाई एशोसिएशन, हामा स्टिल र नलेज इन्टरप्राइजेज ग्रुपबीच भदौ २७ गते सम्झौता भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सो अवसरमा अलुम्नाई एशोसिएशनका अध्यक्ष किशोर शाक्यले निर्माणसँग सम्बन्धित व्यावसायिक सङ्गठनसँग सहकार्य गरेर असल निर्माणको अभ्यास अभियान शुरु गरिने बताए । इञ्जिनियर्स एशोसिएशनका अध्यक्ष हरेराम श्रेष्ठले निर्माण भइरहेका आयोजना समयमा गुणस्तरीय रुपमा सम्पन्न गराउन अभियान चलाउन लागिएको जानकारी दिए । निर्माणका क्रममा हुने सानातिना कमजोरीले दुर्घटना निम्तन सक्ने भएकाले असल निर्माणको अभ्यासबारे जनचेतना जगाउन लागिएको उनले बताए ।

निर्माणका क्रममा रड जोड्न मात्र कमजोरी हुँदा पनि भवन भत्किएर मानिस मरेका घटना भएकाले जागरण फैल्याउन अभियान शुरु गरिएको सो अवसरमा जाजनकारी गराइयो । कार्यक्रममा आर्किटेक्चर इञ्जिनियर डेवेशराज भट्टराई, हामा आइरन एण्ड स्टिलका प्रबन्ध सञ्चालक इञ्जिनियर राजन श्रेष्ठ लगायतले असल निर्माणको अभ्यास शुरु गर्न सबैको सहयोग आवश्यक रहेकामा जोड दिए ।