शिक्षा

सात लाख पुस्तक न्यूनदृष्टियुक्तको पहुँचमा

काठमाडौँ । न्यून दृष्टियुक्त व्यक्तिले अब करीब सात लाख पुस्तक अनलाइनबाटै पढ्न पाउने भएका छन् । डेजी नेपाल मञ्चले यहाँ आज पत्रकार सम्मेलन गरी पहुँचयुक्त सूचना प्रविधिको प्रयोगबाट न्यून दृष्टियुक्तका लागि पढाइ दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘नदेखे नि पढौँ’ अभियानअन्तर्गत डेजी र इपब पुस्तक अनलाइनमा उपलब्ध गराउने ‘बुकशेयर’ ले ती पुरस्तक अनलाइनमा राखेको जानकारी दिएको छ ।

ती पुस्तक अनलाइनमा अङ्ग्रेजी र हिन्दीलगायत ३६ भाषामा पढ्न पाइन्छ । बुकशेयरले नेपाली न्यून दृष्टियुक्तलाई समेत बुकशेयरको निःशुल्क सदस्यता प्राप्त गर्ने निर्णयसमेत गरेको छ । नेपाली न्यून दृष्टियुक्त तथा एन्ड्रोइडको प्रयोगबाट श्रव्य पुस्तक पढ्ने अभ्यासलाई सर्वव्यापक बनाउने सन्दर्भमा अपाङ्गता, अधिकार र विकासका लागि क्रियाशील–नेपाल (एड्राइ) नामक संस्थाको समन्वय र बुकशेयर, नेपाल नेत्रहीन सङ्घ र रोटरी क्लब जावलाखेललगायतको सहकार्यमा ‘नदेखे नि पढौँ’ विषयको क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी काठमाडौँ र पोखरामा सञ्चालन भएको थियो ।

डेजी नेपाल मञ्चका संयोजक डा वीरेन्द्रराज पोखरेलले अभियानअन्तर्गत मोबाइल ई–पुस्तक पढ्नका लागि पोखरा र काठमाडौँमा गरी ६०० न्यून दृष्टियुक्त विद्यार्थीलाई इएन्ड्रोइड मोबाइल उपलब्ध गराइएको जानकारी दिए ।

नेपालको पछिल्लो जनगणना २०६८ अनुसार अपाङ्गता भएका व्यक्तिको हिस्सा कूल जनसङ्ख्याको झण्डै दुई प्रतिशत (१ दशमलव ९४ प्रतिशत) अर्थात् पाँच लाख १३ हजार ३२१ छ । यसमा शारीरिक अपाङ्गता भएका व्यक्ति ३६ दशमलव ६ प्रतिशत, दृष्टिविहीन १६ दशमलव ५ प्रतिशत र सुन्नमा समस्या भएका १५ दशमलव ४ प्रतिशत छन् ।

त्यसैगरी बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति ११ दशमलव ५, श्रवण न्यून दृष्टियुक्तसम्बन्धी एक दशमलव आठ, मानसिक अपाङ्गता ६, बौद्धिक अपाङ्गता दुई दशमलव नौ र बहुअपाङ्गता भएका सात दशमलव पाँच प्रतिशत छन् ।