उर्जा

राष्ट्रिय हितलाई असर पार्ने आयोजना अघि बढाइन्न: ऊर्जामन्त्री पुन

काठमाडौँ । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले राष्ट्रिय हितलाई असर गर्ने र नेपाली जनतालाई ऋणको भार थोपर्ने ढङ्गबाट कुनै पनि आयोजना अघि नबढाइने बताए।

राष्ट्रियसभा मातहतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले आयोजनाका लागि आवश्यक रकमको व्यवस्थापन र प्राप्त गर्ने सम्भावनाबारे नै छलफल नभएको अवस्थामा पैसाको चलखेल भएको भनी सांसदबाटै आरोप लगाउनु शोभनीय नभएको धारणा व्यक्त गरे ।

मन्त्रालयका सचिव डा सञ्जय शर्माले ठेकेदारको क्षमता, जग्गा अधिग्रहण, वातावरणीय प्रभाव मूल्याङकनजस्ता विषयले राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउने सन्दर्भमा प्रारम्भमा केही ढिलाइ भए पनि पछिल्लो समय आयोजनाको प्रगति र अनुगमनसम्बन्धी व्यवस्थामा सुधार आएको जानकारी दिए ।

समितिको आजको बैठकमा सिक्टा, रानी जमरा, भेरी बबई डाइभर्सन, पश्चिम सेती, बूढीगण्डकी आयोजनाको प्रगति, समस्या र समाधानका उपायका बारेमा छलफल भएको थियो ।

बैठकमा तत् आयोजनाका प्रमुखले जग्गा अधिग्रहण, मुआब्जा र वनसम्बन्धी अल्झनका कारण आयोजना समयमा पूरा गर्न कठिनाइ भएको हुँदा यस्ता विषयमा नीतिगत निर्णयको आवश्यकता रहेको सुझाव दिएका थिए ।

यसअघि बैठकमा समितिका सदस्यले सिक्टा आयोजनामा भएको अनियमितताको छानबिन गर्न, आयोजनाको गुणस्तरका बारेमा आएको प्रश्नलाई स्पष्ट पार्न तथा आयोजनाको लगत बढ्ने तर समयमा निर्माण पूरा नहुने प्रवृत्ति अन्त्य गर्न मन्त्रालयलाई सुझाव दिएका थिए ।

बैठकमा सांसद कोमल ओली, सुरेन्द्रराज पाण्डे, खीमलाल भट्टराई, खेमराज नेपाली, रामप्रीत पासवान, धनकुमारी खतिवडा लगायतले राष्ट्रिय गौरवका आयोजनाकै निर्माण प्रगति सन्तोषजनक नदेखिएको जनाउँदै कागजमा देखिएको जस्तै स्थलमा प्रगति भएको छ कि छैन भनी प्रश्न गरे ।

उनीहरुले बूढीगण्डकी आयोजनामा ठूलो पैसाको चलखेल भएको आरोप लगाउँदै भेरी–बबई बहुउद्देश्यीय आयोजनामा सुरुङका लागि प्रयोग भएको उपकरण अन्य आयोजनामा पनि लगाउनेतर्फ ध्यान पु¥याउन सरकारलाई सुझाव दिए ।

समितिले राष्ट्रिय गौरवका आयोजना तोकिएको मितिमा गुणस्तरीय रुपमा सम्पन्न गर्नेतर्फ ध्यान पु¥याउन सरकारलाई निर्देशन दिएको छ ।