लुम्बिनी

जरिवानावापतको लगत उठेन

बुटवल । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा जरिवानावापतको लगत रु ५८ करोड ८६ लाख २१ हजार उठ्न सकेको छैन । सो अदालतले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा मुख्य न्यायाधीश कुमार पोखरेलले दण्ड जरिवानावापतको रकम उठाउने जिम्मेवारी प्रहरीको भए पनि दण्ड जरिवाना लागेका अभियुक्तको मृत्यु भएका कारण जरिवानाको लगत उठ्न नसकेको बताए । उच्च अदालत तुलसीपुर, बुटबल इजलास अदालतअन्तर्गत रुपन्देही जिल्ला अदालतको रु १७ करोड ८४ लाख, कपिलवस्तु जिल्ला अदालतको रु ४ करोड ५५ लाख, नवलपरासी जिल्ला अदालतको रु ११ करोड ५६ लाख, पाल्पा जिल्ला अदालतको रु ६ करोड ७३ लाख, गुल्मी जिल्ला अदालतको रु १७ करोड ६५ लाख र अर्घाखाँची जिल्ला अदालतको रु ५३ लाख लगत उठन सकेको छैन ।

लगत अदालत स्थापना भएदेखि अहिलेसम्मको हो । चालू आवको भदौ मसान्तसम्म रु एक करोड १६ लाख लगत दण्ड जरिवानाको सङ्कलन भएको छ । सो अवसरमा मुख्य न्यायाधीश पोखरेलले न्यायाधिशको एकल प्रयासबाट मात्रै न्याय सम्पादन हुन नसक्ने उललेख गर्दै अदालती प्रक्रिया ढिलो हुने गरेको बताए । उनले मातहतका अदालतमा दुई वर्ष नाघेका मुद्दा पनि भएको जानकारी दिँदै मुद्दामा फैसला मात्रै हुँदैन मेलमिलाप पनि हुन्छ भने । उच्च अदालत तुलसीपुर बुटवल इजलासका रजिष्ट्रार ठगिन्द्र कट्टेलले मानव शंसाधन, बजेट तथा स्रोत साधनलगायतका विभिन्न समस्या र चुनौती अदालतसँग रहेको बताए।