प्रदेश 2

हरित प्रदेश अभियान

जनकपुरधाम । प्रदेश नं २ सरकारद्वारा प्रदेशका आठवटै जिल्लामा आजदेखि हरित प्रदेश अभियान शुरु गरिएको छ । सरकारको नीति तथा कार्यक्रमअन्तर्गत सो अभियान थालिएको हो ।

नीति तथा कार्यक्रममा हरित नगर, हरित गाउँ, हरित सडक, हरित पोखरी, हरित मन्दिर, हरित नहर, हरित खोला किनारासहितका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । हरित प्रदेश अभियानले प्रदेशमा सञ्चालन भइरहेको मुख्यमन्त्री स्वच्छता अभियानलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार यस प्रदेशमा २ लाख ६३ हजार हेक्टर वन क्षेत्र तथा ५४ लाख ४ हजार जनसङ्ख्या रहेको छ ।

निरन्तरको वन विनाश र त्यसबाट सिर्जित विभिन्न समस्याका कारण कृषि क्षेत्रको उत्पादकत्वमा प्रतिकूल असर परिरहेको र सुख्खापनमा वृद्धि, बाढीले बालूवा थुपारेको क्षेत्र बढ्दै गएको अवस्थामा हरित प्रदेश अभियान सञ्चालन गरिएको हो । हरित प्रदेश अभियानअन्तर्गत आठै जिल्लामा एक हेक्टरभन्दा अधिक क्षेत्रमा एकै पटक वृक्षरोपण थालिएको छ । अभियानअन्तर्गत ५० हजार बिरुवा रोपण तथा सिँचाइको व्यवस्थापन र काँडेतार लगाइने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले पर्साको सबैया साझेदारी वनमा, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनारले बाराको खैरातीमाई सामुदायिक वनमा, भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले रौतहटको दाबरी रङ्गपुर साझेदारी वनमा, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनेरश रायले सर्लाहीको लालबन्दी नगरपालिकामा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले महोत्तरीको मटिहानी नगरपालिकामा, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले धनुषाको धनुषाधाम नगरपालिकामा, आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सिरहाको बलानखोला सन्यासी साझेदारी वनमा र आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले सप्तरीको सुरूङ्गा नगरपालिकामा हरित प्रदेश अभियानको शुभारम्भ गरेका छन् । अभियानअन्तर्गत स्थानीय डिभिजन वन कार्यालय मातहतका वन नर्सरीबाट आज सर्वसाधारणलाई निःशुल्क बिरुवा उपलव्ध गराउने व्यवस्था गरिएको बताइएको छ ।