गण्डकी प्रदेश

निजी आवास पुनःनिर्माणले गति लिएन

बेंसीशहर । विनाशकारी भूकम्प गएको तीन वर्ष बितिसक्दा समेत लमजुङमा निजी आवास पुनःनिर्माणले गति लिन सकेको छैन । जिल्लाका अधिकांश भूकम्पपिडितले घर निर्माण सम्पन्न गरे पनि निजी आवास पुननिर्माण कार्यक्रमअन्तर्गत सरकारले वितरण गर्ने अन्तिम किस्ता बराबरको रकम पीडितले पाएका छैनन् ।

निजी आवास पुनःनिर्माण गर्न भदौ महिनासम्ममा तेस्रो किस्ता लिनेको सङ्ख्या ४ सय ४ रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार शाखाकोे तथ्यांकमा देखिन्छ । जिल्लाका १३ हजार ९ सय ५९ पहिचान भएका लाभग्राहीमध्ये १३ हजार ३ सय १३ घरपरिवारले पहिलो किस्ता अनुदान सम्झौता गरिसकेका छन् । आवास प्रवलीकरण सूचीमा परेका ५ सय ३९ लाभग्राही मध्यमा हाल सम्म २ सय ९५ घरपरिवारले मात्र पहिलो किस्ता बराबर ५० हजार रुपैया भुक्तानी गरिएको जिल्ला आयोजना कार्यालयका फोकल पर्सन शिव रेग्मीले बताए । उनका अनुसार भूकम्पबाट क्षति भएर पनि लाभग्राही सूचीमा नपरेको र अनुदान नपाएको भन्दै जिल्लामा गुनासो दर्ता गर्नेको संख्या ६ हजार ८ सय ५५ रहेको छ ।

बेसीशहर नगरपालिकामा १ सय ५१ घर, मस्र्याङ्दी गाउँपालिकामा १ सय १८ घर, दुधपोखरी गाउपालिकामा ५९ घर, मध्यनेपाल नगरपालिकामा ४५ घर, क्व्होलासोंथर गाउँपालिकामा २२ घर, दोर्दी गाउँपालिकामा ८ घर, राइनास नगरपालिकामा १ घर निर्माण सम्पन्न पश्चातको तेस्रो किस्ता वितरण गरिएको छ । सुन्दरबजार नगरपालिकामा तेस्रो किस्ता वितरण कार्य सुरु नभएको उनले बताए ।

अब पहिलो किस्ताका लागि रकम माग गर्न आउनेको सङ्ख्या निकै कम देखिएको उनले बताए। जिल्लाका लाभग्राहीमध्ये १३ हजार ३ सय ४ घरपरिवारले पहिलो किस्ता प्राप्त गरिसकेका छन् । पहिलो किस्ताको तुलनामामा दोस्रो र अन्तिम किस्ता रकम निकासा हुनेको संख्या न्यून देखिन्छ । जिल्लामा हालसम्म चार हजार ४ सय २७ घरपरिवारले दोस्रो किस्ता प्राप्त गरेका छन् । दुई सय घरपरिवारलाइ गैरसरकारी संस्थामार्फत पहिलो र दोस्रो किस्ता प्रदान गरिएको थियो ।

लाभग्राहीले आफ्नो वडामा सम्झौता त्यसको रेकर्ड हामीसम्म आउनासाथ पहिलो किस्ता प्राप्त गर्न सकिने व्यवस्था छ, त्यसकारण प्रथम किस्ता निकासामा समस्या नभएको उनले बताए। दोस्रो र तेस्रो किस्ता प्राप्त गर्न आवास निर्माण भई त्यसको परीक्षण हुनुपर्छ । जिल्लामा पुननिमार्णको काम नै ढिलो सुरु भएको भन्दै स्थानीय जनप्रतिनिधिको आग्रहमा दोस्रो किस्ताको रकम निकासामै बढी जोड दिएका कारण पनि अन्तिम किस्ता लिनेको सख्या न्युन रहेको रेग्मीले बताए ।

भौगोलिक अवस्थाको कठिनाई र प्राविधिक परिचालनमा ढिलाई भएकाले निर्माण हुँदै गरेका घरको चेकजाच र सिफारिसमा केही सुस्सता आएको गुनासोपछि प्राधिकरणले प्राविधिक थप गरेको जिल्ला समन्वय प्रमुख प्रमुख लोकराज पाण्डेले बताए । प्राविधिक परिचालन अगावै निर्माण सम्पन्न घरहरुको किस्ता छिटो सिफारिस हुनुपर्नेमा जोड दिएको छु, उनले भने ‘जनता यसै त पीडित छन्, त्यसमाथि झन ऋणको बोझ नथपियोस् ।’