लुम्बिनी

लुम्बिनीलाई प्रदूषणबाट जोगाउने चुनौती

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्रलाई प्रदूषणको चपेटाबाट जोगाउन सचेत हुनुपर्नेमा जोड दिइएको छ । लुम्बिनी र बुद्धको जीवनीसँग जोडिएका कपिलवस्तु, रुपन्देही र नवलपरासीको रामग्रामलगायतका क्षेत्र खुल्ला सङ्ग्रहालयको रुपमा रहेका विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक वस्तुहरुको प्रदूषणबाट जोगाउन समयमै ध्यान जानुपर्नेमा समेत जोड दिइएको छ ।

नेपाल वातावरण पत्रकार समूहले ‘लुम्बिनीमा औद्योगीक प्रदूषण: सञ्चार बहस’ विषयमा आज लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा बक्ताहरुले लुम्बिनी क्षेत्र सबैभन्दा बढी औद्योगिक प्रदूषणका कारण वातावरणीय विनाशको चपेटामा परेकाले यसको समयमै विकल्प खोज्न जरुरी रहेको बताए ।

कार्यक्रममा प्रदेश ५ सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले लुम्बिनी क्षेत्रसँग जोडिएका उद्योगका कारण अन्तर्राष्ट्रिय जगत्मा नकारात्मक असर परेकाले सबैको चिन्ताको विषय हुनुपर्ने र प्रदूषणमुक्त बनाउन उद्योगीहरु तयार हुनुपर्ने बताए ।

मन्त्री गिरीले प्रदेश सरकारले उद्योगहरुमा सकेसम्म अन्तर्राष्ट्रिय मापदण्डका प्रविधि जडान गरेर उद्योगहरुलाई प्रदूषणमुक्त बनाउन प्रयास गरिने र यसमा उद्योगीहरुसँग सहयोग गर्न आग्रह गरे ।

उनले त्यसबाट पनि प्रदूषण नियन्त्रण नभए उपयुक्त क्षेत्रमा उद्योगलाई स्थानान्तरण गरिने र उद्योग स्थानान्तरण गर्नुपरेमा ती क्षेत्रमा पर्यटनसँग सम्बन्धित उद्योगहरु स्थापना गर्न प्रोत्साहन गरिने बताए ।

मन्त्री गिरीले लुम्बिनी विश्वकै अमूल्य धरोहर मात्र नभई प्रदेशकै आर्थिक विकास र समृद्धिको मुख्य आधारस्तम्भ भएकाले यसको वातावरणीय संरक्षणमा सरकारले सम्झौता नगर्ने बताउँदै उद्योगले गर्ने प्रदूषण रोक्न अहिले कानून अभाव रहेको औँल्याउंँदै छिट्टै कानून बनाएर प्रदूषणको समस्या समाधान गर्ने बताए।

लुम्बिनी आउने राजमार्गको दुवैतर्फ वृक्षरोपण गरी पाँच वर्षभित्र हरियाली बनाउने सरकारको योजना छ । लुम्बिनीको आसपास रहेका तिनाउ, दानव, रोहिणी आदि नदी किनारमा बाँस लगाई नदी कटान रोक्ने र हरियाली पनि बनाउने, एक गाउँ एक पोखरी बनाई पानीको स्रोत संरक्षण गर्ने, जङ्गलमा रिसोर्ट बनाउने प्रदेश सरकारको योजना रहेको बताए ।

लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव इन्जिनियर सरोज भट्टराईले उद्योग विभागले लुम्बिनी विकास कोषसँग समन्वय नै नगरी उद्योग स्थापनाको अनुमति दिने प्रवृत्तिले लुम्बिनी क्षेत्रको वातावरणीय संरक्षणमा चुनौती रहेको बताउँदै विकास कोषमा कार्यरत प्राविधिकलाई कोषभित्रको बाहिरी परिसरको वातावरणीय प्रदूषण हेर्ने अधिकार नभएको बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले लुम्बिनी क्षेत्रको बिकासका लागि आफूहरुले लुम्बिनी विकास कोषसँग समन्वय र सहकार्यको पहल गरिरहेको बताए ।

नगर प्रमुख चौधरीले लुम्बिनीप्रति स्थानीयको अपनत्व विस्तारै बढ्न थालेको स्थानीयकै सहकार्यमा लुम्बिनी क्षेत्रका घरहरुमा बुद्धत्व झल्कने पहेँलो रङ्ग लगाउने तयारी भइरहेको जानकारी दिए ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कूलप्रसाद न्यौपानेले स्वदेशी उद्योगका कारण मात्र नभई भारतीय सीमावर्ती उद्योगका कारण पनि लुम्बिनीमा प्रदूषण फैलिने विषयमा ध्यान जानुपर्नेमा जोड दिए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै संस्कृतिविद् डा गितु गिरीले वायु प्रदूषणसँगै ढल र नालीको उचित व्यवस्थापन गरी लुम्बिनीलाई सफा र स्वच्छ बनाउनुपर्ने सुझाव दिए ।