लुम्बिनी

सतबरिया– कालीपुर जोड्ने पुल बन्ने

लमही । लमहीको राप्ती नदीमा पक्की पुल निर्माण हुने भएको छ । लमही नगरपालिका–८ सतबरिया र राजपुर गाउँपालिका–३ कालीपुर जोड्ने सडकअन्तर्गत राप्ती नदीमा पक्की पुल निर्माण गर्न सडक विभागले रु ६० करोड बजेट विनियोजन गरेको छ । पाँच वर्षभित्र निर्माण गरिसक्ने गरी अनक कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको इञ्जिनियर यादव बस्यालले जानकारी दिए ।

पाँच सय २० मिटर लम्बाई रहेको उक्त पुलको ‘सतबरिया बक्स गदर पुल’ नामकरण गरिएको छ । इञ्जिनियर बस्यालका अनुसार सात वटा पायर दुई ‘एभ्रमेन्ट’ रहेको पुलको दशैँ अगाडि फाइलिङ गरिसक्ने र तिहारपछि निर्माण कार्यलाई तीब्रता दिइनेछ ।

पुल निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दाले जोखिम मोलेर डुङ्गाबाट वारपार गर्नुपर्ने बाध्यता रहेको थियो । पुल निर्माणपछि त्यो समस्या अन्त्य हुने लमही–८ का विजय चौधरीले बताए ।

“यसअघि डुङ्गाबाट जोखिम यात्रा गर्नुपर्ने बाध्यता थियो” उनले भने “पुल बनेपछि सडक पनि आवतजावत गर्न सहज र पैदल यात्रुलाई पनि सहज हुनेछ ।”