अन्तर्राष्ट्रिय

आठजना तालिबान मारिए

काबुल । अफगानिस्तानको पूर्वीप्रान्त कुन्दुजको चारदरा जिल्लामा भएको कारबाहीका क्रममा आठ जना तालिबान मृत्यु भएको बताइएको छ ।

अफगानिस्तानको सरकारी स्रोतले सो जनकारी दिएको छ । उक्त स्रोतले बिहीबार दिएको जानकारी अनुसार उक्त कारबाहीका क्रममा अरु छ जना तालिबान पनि घाइते भएका छन् ।

सुरक्षा गस्तीमा खटेका अधिकारीमाथि तालिबानले आक्रमण गरेका थिए । सो आक्रमणपछि अफगान सुरक्षाकर्मीहरुले पनि जवाफी कारबाही गरेका बताइएको छ ।

सो क्षेत्रमा तालिबान आतङ्ककारीहरुको बढ्दो उपस्थितिका कारण सुरक्षा गस्ती बाक्लो बनाइएको बताइएको थियो ।

अफगानिस्तानमा यस वर्षको सुरुदेखि छ महिनाभित्र भएका द्वन्द्वसँग सम्बन्धित हत्या हिंसामा एक हजार ६९० सर्वसाधारण मारिएका छन् भने अन्य तीन हजार ४३० घाइते भएका अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसंघीय मिसन, युएनएएमएद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यसमध्ये १४९ सर्वसाधारण आतङ्ककारी लक्षित हवाई कारबाहीमा मारिएका छन् । अन्य २०४ जना घाइते भएका पनि सो विज्ञप्तिमा जनाइएको छ । –रासस/सिन्ह्वा