सूचना प्रविधि

सरकारले दृढतापूर्वक शान्ति सुरक्षा दिन्छ : मन्त्री बाँस्कोटा

काभे्रपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले दृढतापूर्वक शान्ति सुरक्षा दिने भएकाले निश्चिन्त रहन सबैमा आग्रह गरे ।

काभे्रपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ ज्याम्दीस्थित नवनिर्मित स्वास्थ्यचौकी भवन हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्दै सरकारका प्रवक्ता बाँस्कोटाले भने, “शान्तिपूर्वक र सुरक्षित भएर बस्न पाउने जनताको हक हो, तपाईहरु निश्चिन्त रहनुस्, सरकारले दृढतापूर्वक त्यसको प्रत्याभूत गर्दछ ।”
स्वास्थ्य, शिक्षा, खाद्यान्न र आवास जनताको मौलिक हक भएकाले त्यसको सुनिश्चितता गर्ने कानून संसद्ले पारित गरेको प्रसंग उल्लेख गर्दै मन्त्री बाँस्कोटाले नेपाली जनतालाई शान्ति, समृद्धि र सुख दिलाउन सरकार निरन्तर खटिरहेको छ बताए ।
मन्त्री बाँस्कोटाले नेपालीको अधिकारको लडाइँ सकिएकाले अब उत्पादन र निर्माणको लागि लाग्ने बेला भएको बताए । उनले भने, “आपराधिक मानसिकता र कानूनबीच संयोजन हुन सक्दैन, सधैँ विद्रोही बनेर पनि केही पाइन्नँ ।” उनले भने, “विकास र समृद्धिका लागि पनि रातारात केही हुन्न, यसका लागि सरकारको तीव्र कोशिश जारी छ ।” मन्त्री बाँस्कोटाले नागरिक इमान्दार र सच्चा भए स्वतः नराम्रा घटनाको अन्त्य हुने उल्लेख गर्दै सच्चा नागरिक भए भ्रष्टाचार पनि शून्य हुने बताए ।

कोरियन रेडक्रसका नेपाल प्रतिनिधि सनइ किमले भूकम्पले क्षतिग्रस्त स्वास्थ्यचौकीको भवन निर्माण भएपछि यहाँका जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउनेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा स्वास्थ्यचौकी भवन निर्माण गर्न जग्गा प्रदान गर्ने स्थानीय समजसेवीलाई सम्मान गरियो । कोरियन रेडक्रसको रु ७५ लाखको सहयोगमा ज्याम्दीमा ११ कोठे स्वास्थ्यचौकी र एउटा आवास भवन निर्माण गरिएको हो ।