कृषि

कृषक उत्साहित

पाँचथर । जिल्लाका किसान अदुवाको उचित मूल्य पाएपछि उत्साहित भएका छन् । सिकानले यसपालि अदुवाको बेचेर पोहोरभन्दा दोब्बर आम्दानी लिएका छन् ।

पोहोर यहाँका किसानले माउ अदुवा सरदर प्रतिकिलो रु २५ मा बेचेका थिए । यस वर्ष चरणचरण गरेर प्रतिकिलो रु ४० देखि रु ७५ सम्ममा बिक्री गरेका छन् । सरदर प्रतिकिलो रु ५० मा माउ अदुवा बिक्री भएको फिदिम–२, अर्खौलेका सरस्वती ढुङ्गानाले बताए । माउ अदुवाबाट तेब्बर आम्दानी गरेको उनले बताए । “पोहोर मन (चालिस किलो) रु ७०० मा बेचे । यस वर्ष रु दुई हजार ४०० मा आठ मन बेचे,” उनले भने ।

चैत– वैशाखमा रोपिने अदुवाको माउ साउन भदौमा निकालेर वेच्ने गरिन्छ । यसपालि जिल्लाबाट दुई हजार ४०० मेट्रिक टन अदुवा निकासी भएको व्यापारी सूर्य मगरले बताए । पूर्वी पहाडी जिल्लामा उत्पादित अदुवाको मुख्य बजार भारत हो । विगतमा अदुवा निकासीका क्रममा नाकामा भारतीय पक्षले अवरोध खडा गर्नुका साथै उचित मूल्य नपाउँदा किसानले घाटा खाँदै आएका थिए ।
जिल्लामा ७६० हेक्टर जमीनमा अदुवा खेती हुने गरेको छ । यहाँका ११ हजार बढी घरपरिवार अदुवा खेतीमा संलग्न छन् । बजारको समस्याका कारण किसानले घाटा खानु परिरहेको छ ।