गण्डकी प्रदेश

एक प्रतिशत लाभग्राहीले बुझे तेस्रो किस्ता

दमौली । भूकम्पबाट घर क्षति भएका तनहुँका १ दशमलव १ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता वापतको रकम बुझेका छन् ।

भूकम्पबाट घर क्षति भएका तनहुँका १३ हजार ८२१ मध्ये १६१ लाभग्राहीले मात्रै तेस्रो किस्ताको रकम बुझेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई तनहुँले जनाएको छ । तेस्रो किस्ताको रकम वितरणका लागि रु एक करोड ६१ लाख निकासा भएको एकाईका नायव सुब्बा रामहरि खनालले जानकारी दिए । १३ हजार ४४ लाभग्राहीले पहिलो र तीन हजार ८४४ लाभग्राहीले दोस्रो किस्ताको रकम बुझेको उनले बताए ।

तेस्रो किस्ताको रकम बुझ्नेमा भानु नगरपालिका आठ, शुक्लागण्डकी नगरपालिका १०, बन्दीपुर गाउँपालिका पाँच, आँबुखैरेनी गाउँपालिका ६६, घिरिङ गाउँपालिका १४, म्याग्दे गाउँपालिका ३० र रिसिङ गाउँपालिकाका २८ लाभग्राही छन् । व्यास नगरपालिका, भिमाद नगरपालिका र देवघाट गाउँपालिकाका कुनै पनि लाभग्राहीले तेस्रो किस्ताको रकम बुझेका छैनन् ।

सरकारले भूकम्प पीडितलाई आवास निर्माण गर्न तीन किस्तामा रु तीन लाख अनुदान दिनेछ । पहिलो किस्तामा पीडितलाई रु ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख गरी रु तीन लाख पीडितलाई प्रदान गरिनेछ । तनहुँमा एक वर्ष ढिला गरी पुनः निर्माणको कार्य शुरु भएकाले तेस्रो किस्ता बापतको रकम लिनेको सङ्ख्या न्यून रहेको बताइएको छ ।