पर्यटन/संस्कृति

चार नारायणको मन्दिरको पुनः निर्माण आगामी वर्ष सकिने

ललितपुर । पाटन दरबार क्षेत्रका मन्दिरमध्ये सबैभन्दा पुरानो चार नारायाण मन्दिरको पुनः निर्माण आगामी वर्ष सकिने जनाइएको छ ।

काम नियमित रुपमा भइरहेकाले आगामी वर्षसम्म पुनः निर्माणको काम सकिने पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए । उनका अनुसार हरिशङ्कर मन्दिर पनि एक वर्षमा सक्ने गरी काम भइरहेको छ । यहाँ रहेका धेरै वटा स्मारकको पुनः निर्माणको जिम्मेवारी काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी) ले लिएको छ । प्याकुरेलले भने, “अरू काम जसरी नै कोषले यो पनि समयमा सकाउँछ भन्ने हाम्रो विश्वास छ ।”

पुनः निर्माणमा कार्यरत कोषको आफ्नो कर्मचारी भएकाले ढिलाइ नहुने प्याकुरेलले बताए । कोषले काम गरेको स्मारकमा कृष्ण मन्दिर, मणिमण्डप, बहादुर शाहको बैठक कक्ष, योग नरेन्द्र मल्लको सालिक स्तम्भ, सिंह स्तम्भलगायत सम्पन्न भइसकेको छ ।

चार नारायण मन्दिर अरूभन्दा पुरानो भए पनि कहिले बन्यो भन्नेमा फरक धारणा पाइन्छ । कतिपयले मन्दिर १६औँ शताब्दी त कतिले १७औँ शताब्दीको शुरुमा निर्माण भएको उल्लेख छ । यो मन्दिर इँटैइँट्टाले बनेको छ । आगामी वर्ष सक्ने योजनाले अघि बढेको हरिशङ्कर मन्दिरलाई योग नरेन्द्र मल्लकी छोरीले बनाउन लगाएकी थिइन् । आधा विष्णु र आधा शिवको स्वरुप मानिने हरिशङ्कर मन्दिर १८औँ शताब्दीको शुरुमा निर्माण भएको जनाइएको छ ।