पर्यटन/संस्कृति

श्रवणशक्ति कमः चित्रकलामा निपुण

काठमाडौँ । नेपाली समाजमा शारीरिक अपाङ्गता भएका मानिसले समाजमा खुलेर आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर विरलै पाउँछन् । त्यस्ता व्यक्तिको विवाह पनि कमैको हुने गरेको छ । ललितपुर कुपण्डोलमा जन्मनुभएकी ३६ वर्षीया रश्मि अमात्य भने बोल्न नसक्ने भएर पनि एक उदाहरणीय पात्र बनेकी छिन् । विवाहअघि आफ्ना रहरलाई खुम्च्याएर राख्न बाध्य उनको विवाह लमजुङका हरि अधिकारीसँग भएपछि उनको दिशा नै बदलियो । उनी संकेतमार्फत भन्छिन्, “मैले त कल्पना पनि गर्न सकेकी थिइन म पनि पढ्न सक्छु, केही गर्न सक्छु भनेर ।” श्रीमान्को साथ र हौसलाले आफूलाई अघि बढ्न मद्दत मिलेको उनी बताउँछिन् । सामान्यभन्दा असामान्य हुँदा नै आफूले प्रगति गर्न सकेको रश्मिको जिकिर छ ।

आफू बोल्न नसक्ने भए पनि परिवारमा छोरीले बोल्न सक्दिन भन्ने लाजले आफूलाई सामान्य व्यक्ति पढ्ने विद्यालयमा नै भर्ना गरिदिनुभएको रश्मिले बताए । बहिरा विद्यालय धेरै टाढा भएपछि उनलाई कुपण्डोलकै नाइटिङ्गेल विद्या मन्दिरमा भर्ना गरिएको थियो । “अरु साथीहरुले पढेर बस्दा म केही बुझ्दिनथेंँ, अल्छी लाग्थ्यो र चित्र कोरेर बस्थेंँ”, उनले भने । केही दिनसम्म गृहकार्य गरेर शिक्षकशिक्षिकाबाट कुटाइ खाए पनि शारीरिक अवस्थाका बारेमा थाहा पाइसकेपछि उनीहरुबाट उनले हौसला पाएकी थिइन् ।
विसं २०३९ मा जन्मनुभएकी रश्मिलाई परिवारमा बुवाको सहयोग नभए पनि आमाले भने चित्र बनाउन सिकाउने गदर्थे । आमाको सल्लाहपछि नै उनले चित्रकलासम्बन्धी तालीम लिएकी थिइन । सधैंँ पसलमा मात्र व्यस्त हुने उनको परिवारबाट आफूले समय नपाउँदा चित्र बनाउने काम नै उनको मुख्य थियो ।

उनी कक्षा नौसम्म लगालग उत्तीर्ण भए पनि प्रवेशिका परीक्षा भने उत्तीर्ण भएन । अनुत्तीर्ण भएपछि उनले पढाइ नै छाडिदिए । पढाइ छाडेपछि उनी नेपाल बहिरा सङ्घमा आबद्ध भए । सङ्घमा आबद्ध भएपछि आफूले त्यहीँबाट नाटक सिक्ने अवसर पाएको उनी बताउँछन् । शुरुआतमा उनले कृष्ण सहयात्रीको तीन नाटकमा काम गर्ने अवसर पाएकी थिए । नाटककै क्रममा रश्मिको भेट हरिसँग भएको थियो ।
हरिसँग विवाह भएपछि नै उनले पढाइलाई निरन्तरता दिँदै व्यावसायिक रुपमा चित्र बनाउने काम गर्न थालेकी थिइन । चित्र बनाउने गरेर मात्र नसिकिने लागेपछि हाल उनी काठमाडौँ विश्वविद्यालयअन्तर्गत स्नातक तहमा ललितकला विषय अध्ययन गर्दै छिन् । चित्र कोर्नमा निपुण उनले हाल आफूजस्तै बोल्न नसक्ने बालबालिकालाई चित्र बनाउन सिकाउने काम समेत गर्दै आएकी छन् । रश्मिले कलाकारका रुपमा बालबालिकालाई चित्र बनाउन सिकाउने गर्छिन भने उनका श्रीमान्ले सहयोगीका रुपमा काम गर्दै आएका छन् । हाल उनले लमजुङ, नुवाकोट, पाल्पा, सर्लाहीलगायत १६ जिल्लामा संस्थागत र व्यक्तिगत रुपमा चित्रकला तालीम दिइसकेका छन्।

“म कल्पनासमेत गर्न सक्दिन पहिले कसैसँग मनका कुरा व्यक्त गर्न नसक्ने म आज सबैसँग खुलेर कुरा गर्न र सिकाउन समेत सक्ने भएकी छु”, उनले हर्षित हुँदै भने । आफूजस्ता अपाङ्गता भएका व्यक्तिलाई आफूले मन लागेका काम गर्नुपर्ने सुझाव उनको छ । उनी थपछिन्, “हामीजस्ता बोल्न नसक्ने व्यक्तिको शब्द पनि सीमित छ, भावना व्यक्त गर्ने उपयुक्त माध्यम भनेकै चित्रकला हो ।” रश्मिकै नामबाट हात्तीवन निवासी अधिकारी दम्पतीले हाल कुपण्डोलमा ‘रश्मि आर्ट हाउस’ सञ्चालन गर्दैआएको छ । “विवाहअघि त जिन्दगी अन्धकारजस्तै लाग्थ्यो, कसैको हौसला पनि थिएन तर अहिले धेरै काम गर्न सफल भएको छु”, रश्मिले भने । हाल उनले बोल्न नसक्ने बालिकाहरुलाई विभिन्न जनचेतनामूलक तालीमसमेत दिँदै आएकी छन् । उनी आफ्नो सफलताको श्रेय पतिलाई नै दिन्छिन् ।
हरि चलचित्र निर्माता हुन् । ‘उडी छुनु चन्द्र एक’ नामक टेलिचलचित्रको कलाकारमा बोल्न नसक्ने कलाकारको आवश्यकता परेपछि अधिकारी बहिरा सङ्घमा पुगेका थिए । सोही क्रममा उनीहरुको भेट २०६४ सालमा भएको थियो । रश्मिले उक्त टेलिचलचित्रमा प्रमुख पात्रको भूमिका निर्वाह गरेकी छिन । “पाँच महिनासम्म सँगै काम गरेपछि म अष्ट्रेलिया गएँ, उतै हुँदा नै मलाई रश्मिले साथ पाइन् भने केही गर्न सक्छिन् भन्ने लागेपछि उसलाई विवाहको लागि प्रस्ताव राखेंँ”, अधिकारीले बताए । उनीहरुको विवाह २०६५ सालमा भएको थियो ।
दुवैको जात फरक भए पनि मागीविवाह नै भएको थियो । “अरू सामान्य केटीसँग विवाह गरेको भए राम्रो हुन्थ्यो भन्ने होइन, विवाह भएको दश वर्षसम्म पनि हाम्रो सम्बन्ध अहिले उस्तै गाढा छ”, उनले बताए । रश्मि आर्ट हाउसमार्फत हरि चलचित्र बनाउँछन् भने रश्मिले चित्र बनाउने काम गर्दै आएकी छन् ।