उर्जा

दुई वर्षभित्र पाँचथरका सबै तहमा विद्युतीकरण

काठमाडौँ । पूर्वी पहाडी जिल्लाको पाँचथर जिल्लामा आगामी दुई वर्षमा सबै स्थानीय निकायमा विद्युत् प्रसारण लाइन विस्तार भइसक्ने भएको छ । शिवगङ्गा पञ्चमुखी ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडमार्फत फालेलुङ गाउँपालिका–१ र २ मा विद्युतीकरण गर्न नेपाल विद्युत् प्राधिकरण र उक्त संस्थाबीच रु सात करोड १७ लाख ६१ हजार ९८८ बराबर लागतको सम्झौता बुधबार सम्पन्न भएको छ ।

संस्थाको तर्फबाट डिल्ली रिजाल, केशव गुरागाई, राजन भट्टराई र धनेन्द्र आङ्थोपोसहितको टोली र प्राधिकरणबीच काठमाडौँमा उक्त सम्झौता भएको हो । पाँचथर जिल्लाका प्रतिनिधिसभाका सांसद वसन्त नेम्वाङले शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, खेलकूदलगायतको विकास गर्नु पाँचथर जिल्लाको लागि पहिलो कार्य भएकाले त्यसैअनुरुप विद्युत् विकासको कार्यलाई तीव्रता दिइएको बताए।

त्यस्तै सांसद नेम्वाङले आगामी दुई वर्षभित्रमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पु¥याइ पाँचथर जिल्लालाई उज्यालो जिल्लाका रुपमा विकसित गर्ने दाबीसमेत गरे । त्यस्तै उहाँले जिल्लालाई समृद्ध बनाउन विद्युत् विकासको अभियाननै सञ्चालन गर्ने तयारीमा रहेकोसमेत जानकारी गराए ।

उनले विद्युत् विकासको गतिलाई तीव्रता दिन प्राधिकरणसँग भएको सम्झौताको काम गर्न फालेलुङ गाउँपालिकाका वडा नं ३, ४, ५, ६, ७ र याङ्वरक गाउँपालिकाका १, २ र ३ नंं वडाका जनप्रतिनिधिलाई आग्रहसमेत गरे ।