पर्यटन/संस्कृति

विश्व पर्यटन दिवस: दर्शनीयस्थल काँहूडाँडा प्रवद्र्धन गरिदै

पोखरा । पोखरालाई काखमा लिएको समुद्री सतहबाट एक हजार ४४३ मिटरको उचाइमा अवस्थित अन्नपूर्ण, माछापुच्छे, धवलागिरिलगायतका हिमशृङ्खलाका साथै सूर्योेदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न लागि स्वदेशी एवं विदेशी पर्यटक पोखरा आउने गर्छन् ।
पोखरामा क्षणभरमा पानी परिरहने भएकाले यहाँबाट इन्द्रेणीका रमाइला दृश्य पनि समय समयमा देख्न सकिन्छ । उत्तरतर्फका रमणीय हिमाल, हरियालीको अवलोकन र पश्चिम तथा दक्षिणतर्फ बाक्लिँदै गरेको पोखरा शहर, फेवाताललगायतका दृश्यलाई एकसाथ अवलोकन गर्दैैै पर्यटक त्यसलाई क्यामेरामा कैद गर्छन् ।

“हिमशृङ्खलासहित सूर्योदयको मनोरम दृश्य देखिने काँहूडाँडा इन्द्रेणी अवलोकनका लागि पनि विशिष्ट स्थल हो”, स्थानीयवासी एवं फूलबारी युवा क्लबका अध्यक्ष हरिश्चन्द्र बाँस्तोलाले भने ।
डाँडाको उत्तरतर्फको २४ हेक्टर क्षेत्रफलमा रहेको धारापानी सामुदायिक वनमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने डाँफे, मयुर, मृगजस्ता वन्यजन्तु एवं चराचुरुङ्गी र गुराँसलगायतका विभिन्न प्रजातिका वनस्पति देख्न सकिन्छ । पोखराबाट सबैभन्दा नजिक लालिगुराँस देख्न सकिने स्थल पनि यही हो । ‘लालीगुराँस हेर्नलाई हो टिप्नलाई होइन’ भन्ने कुरालाई स्थानीयमा जनचेतना बढाउँदै यसको संरक्षणका लागि समितिले सक्रियता देखाएको छ ।

यहाँको समान उचाइका उस्तै दृश्य देखिने सराङकोट, विश्वशान्ति स्तुपलगायतका स्थानमा दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरे पनि यो स्थल अझै पर्यटकको पर्खाइमा रहेको काँहूकोट देउराली मन्दिर तथा धरहरा संरक्षण समितिका अध्यक्ष सुवेदार इन्द्रबहादुर गुरुङले बताए ।

“धेरै सम्भावना भएर पनि काँहू छायाँमा परेका कारण यसको संरक्षण, विकास र प्रवद्र्धनको उद्देश्यका साथ हामी लागेका छौँ”, उनले भने । पर्यटकीय सम्भावनालाई दृष्टिगत गरी विसं २०२६ मा समाजसेवी मेजर वीरसिंह गुरुङको विशेष सक्रियतामा काँहू धरहरा निर्माण गरिएको उनले जानकारी दिए। धरहराका कारण फाट्टफुट्ट पर्यटक पुग्ने गरे पनि अपेक्षित पर्यटक अझै भित्र्याउन नसकिएको स्थानीयवासी बताउँछन् ।

काँहू धरहारका साथै यहाँस्थित काँहूकोट देउराली मन्दिर यहाँको धार्मिक पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । मन्दिर स्थापनाको यकिन मिति नभए पनि परापूर्वकालदेखि यहाँ पूजाआजा हुँदै आएको स्थानीयवासी नित्यानन्द आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार काँहुकोट देउराली र विन्ध्यवासिनी दिदीबहिनी भएको जनविश्वास छ । विन्ध्यवासिनी मन्दिर पोखराको बीच भागमा रहनुका साथै सुगमता भएका कारण यसको जति प्रचार–प्रसार काँहूकोट देउरालीको हुन नसकेको उनको भनाइ छ ।

विशेषगरी आश्विन शुक्ल पक्ष (दुर्गा पक्ष) र चैते दशैँका अवसरमा विशेष पूजाआजा हुने यस शक्तिपीठमा धान रोप्ने र भित्र्याउने बेलामा पनि स्थानीयवासीले पूजाआजा गर्ने गर्दछन् । धान रोप्ने समयमा पूजा गरेमा राम्रो वर्षात् भई धेरै अन्न उब्जाउ हुने जनविश्वास छ भने भित्र्याउने समयमा पूजा गरे असिनाजन्य प्रकोपबाट अन्नलाई बचाउन सकिने जनविश्वास अझै पनि कायमै रहेको स्थानीयवासी बताउँछन् ।

पोखराको चापापानीबाट लगभग साढे सात किलोमिटर लम्बाइमा रहेको धरहरासम्मकै बाटो लगभग कालोपत्रे भइसकेको छ । यहाँको पर्यटकीय विकासलाई लक्षित गरी पूर्वाधार विकासका काम अघि बढाइएको बताउँदै अध्यक्ष गुरुङले यस स्थलमा धर्मकाया बुद्ध मण्डला निर्माणको तयारी पनि भइरहेको उल्लेख गरे ।

काँहूको पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ ३९औँ विश्व पर्यटन दिवसका अवसरमा पोखरा महानगरपालिका–११ को आयोजनामा आज प्रवद्र्धनात्मक कार्यक्रम गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले धेरै सम्भावना भएर पनि ओझेलमा परेको काँहूको प्रवद्र्धन एवं विकासमा प्रदेश सरकारको सक्रिय सहयोग रहने बताए ।

पर्यटकलाई लक्षित गरी भौतिक पूर्वाधार विकासका साथै सुविधा सम्पन्न होटल तथा रेष्टुराँ सञ्चालनमा लाग्नुपर्ने उनको भनाइ छ । पोखरा महानगरपालिका– ११ का वडाध्यक्ष मोहनप्रसाद बाँस्तोलाले काँहूको पर्यटन बजारमा प्रचार प्रसार गर्न सकेमा अधिकतम पर्यटक भित्र्याउन सकिने बताउँदै त्यसबाट यहाँका सर्वसाधारणले अधिकतम लाभ लिनसक्ने धारणा राखे ।

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले सडक, खानेपानीजस्ता आधारभूत आवश्यकता पूरा गर्दै पर्यटक लक्षित कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, पर्यटनविज्ञ वासु त्रिपाठी, पर्यटन यातायात समितिका अध्यक्ष बबरजङ्ग गुरुङ, वडा सदस्य मीनबहादुर गुरुङलगायतले काँहूको ठूलो पर्यटकीय सम्भावना रहेको बताउँदै त्यसको उपयोग हुनुपर्ने आवश्यकता औँल्याए ।