गण्डकी प्रदेश

तीन महीनामा २७ जनालाई लागूऔषधसहित पक्राउ

दमौली । चालु आर्थिक वर्षको तीन महीनाको अवधिमा तनहुँ प्रहरीले २७ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
गत साउनदेखि असोज १० गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ६८८ थान लागूऔषध र दुई हजार २३० ग्राम गाँजासहित २७ लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

साउनमा १२, भदौमा १२ र असोज महीनामा तीन जना लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । हालै ल्याइएको दुई कुकुरको सहयोगमा बुधबार यात्रुवाहक बसमा लागूऔषध ओसारपोसार गर्ने युवा पक्राउ परेका छन् । नवलपरासी बुम्दीकाली गाउँपालिका–१ घर भई हाल पोखरा महानगरपालिका–४ सिद्धार्थचोक बस्ने २० वर्षीय पारस सार्की पक्राउ परेका हुन् ।

पोखराबाट ल्याइएको सीमा र चेरी नाम गरेका कुकुरको सहयोगमा प्रहरीले बुधबार राति पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा ना१ख ३६७९ नं को धादिङबाट पोखरा जाँदै गरेको यात्रुवाहक बसमा सवार सार्कीलाई तीन किलो गाँजासहित पक्राउ गरिएको हो ।
पक्राउ परेका सार्कीविरुद्ध अनुसन्धान भइरहेको छ ।