गण्डकी प्रदेश

ग्रामीण सडक मर्मत शुरु

कुश्मा । चाडबाडलाई ध्यान दिएर वर्षाले भत्काएका पर्वतका ग्रामीण सडकको मर्मत शुरु भएको छ । असारको पहिलो सातादेखि बाढीपहिरोले सवारी आवागमन नै नहुनेगरी जीर्ण भएका सडक स्थानीय तहले मर्मत थालेका हुन् ।

दशैँलाई लक्षित गर्दै आवागमन सहज बनाउन मर्मतको योजना अघि बढाइएको जनप्रतनिधिले बताएका छन् । गाउँ र नगर कार्यसमितिबाट बजेट विनियोजन गरेरै ग्रामीण सडकका खाल्डाखुल्डी पुर्ने, ग्राभेल गर्ने, भत्किएका ग्याभिन जाली लगाउने र सोलिङ गर्ने गरी मर्मतको काम थालिएको स्थानीय तहले जनाएका छन् ।

कुश्मा नगरपालिकाले नगरभित्रका कुश्मा–दुर्लुङ, सिल्मी–ठूलीपोखरी र पकुवा–आर्थरलगायतका सडक मर्मत शुरु गरेको छ । यस्तै दोबिल्ला–फलेवास मार्गको सिल्मीमा भत्किएको सडकको मर्मतको काम पनि शुरु भएको छ । नगरभित्र दशैँअघि नै सबै सडकमा गाडी चल्न सक्ने गरी मर्मत गरिने नगरप्रमुख रामचन्द्र जोशीले बताए ।

फलेवास नगरपालिकाले गत वर्ष मापदण्ड बनाएर सडक विस्तार शुरु गरेको थियो । ती अधिकांंश सडक पहिरो खसेर अवरुद्ध भएका थिए । साइकलचोक–शङ्करपोखरी, तातोपानी–शङ्करपोखरी र खानीगाउँ–कार्कीनेटालगायतका सडक मर्मत शुरु गरिएको हो ।
नगरप्रमुख पदमपाणि शर्माका अनुसार मापदण्ड नपुगेका सडक हिउँदमा विस्तार गरिएको थियो । वर्षामा भेलले पुरिएपछि केही समय ती सडकमा आवागमन अवरुद्ध थियो । पर्वतकै जलजला र मोदी गाउँपालिकाले पनि बिग्रिएका सडक मर्मत शुरु हुने जनाएका छन् ।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लका अनुसार मुख्य सडक मर्मत गरेर एक महिनाभित्रै यात्रा सहज बनाइनेछ । बाढीले खोलेका स्थानमा सोलिङ गरी भत्किएका सडकमा पहिरो पन्छाउन बजेट विनियोजन गरिएको मल्लले बताउनुभयो । मोदीका अध्यक्ष प्रेम पौडेलका अनुसार गाउँपालिकाका सबै वडामा पुग्ने मुख्य सडक मर्मत गर्न सम्बन्धित वडालाई निर्देशन दिइएको छ ।

महाशीला गाउँपालिकाले पनि अघिल्लो वर्ष मापदण्ड बनाएर सडक ८ देखि १५ मिटरसम्म चौडा बनाएको थियो । फराकिला पारिएका कच्ची सडक वर्षाको बाढीले क्षति पु¥याएको छ । क्षतिग्रस्त सडक मर्मत गरी दशैँमा गाउँ फर्कने सर्वसाधारणलाई सहज बनाउन कार्यपालिकाले निर्णय गरेको अध्यक्ष राजुप्रसाद पौडेलले बताउनुभयो ।

बिहादी गाउँपालिकाले पनि सडक मर्मत थालिसकेको छ । अध्यक्ष कमल भुसालले धेरै सडक भएकाले तत्कालका लागि मुख्य–मुख्यलाई प्राथमिकतामा राखेको बताएको छ । पैयूँका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीका अनुसार गाउँपालिकाका सबै वडामा पुग्ने मुख्य सडकलाई प्राथमिकतामा राखेर मर्मत शुरु गरिएको छ ।