बाग्मती

सिङ्गो गाँउवासीकै घर पुनःनिर्माण हुन सकेन

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–२ फुलपाका जग्गाबिहीन सीमान्तकृत समुदायका भूकम्पपीडितले भूकम्प गएको तीन वर्ष हुँदासम्म घर निर्माण गर्न पाएका छैनन् । वर्षौदेखि अर्काको जग्गा कमाएर बस्दै आएका उक्त समुदायका ६४ घर परिवारले आफ्ना नाममा लालपुर्जा नभएकै कारण घर निर्माण गर्न नपाएका हुन् ।

घर निर्माणका लागि नक्सापास अनिवार्य गरिएको र यसका लागि आफ्नो नाममा लालपुर्जा नभएका कारण नगरपालिकाले नक्सापास नगरेको स्थानीयवासी प्रतिमा योगीले बताए। पुनःनिर्माण प्राधिकरणले जारी गरेको लाभग्राही सूचीमा ६४ जनाकै नाम भए पनि लालपुर्जा नभएका १९ घरपरिवारले पुनःनिर्माणसम्बन्धी कुनै पनि सहायता पाएका छैनन् भने बाँकीले मञ्जुरीनामा पाएकाले केही सहायता पाएका छन् । पीडित मोहन योगीले हामीले किन सरकारी अनुदान पाएनौँ र हामी कहिलेसम्म चिसो कटेरोमा बस्नुपर्ने हो भन्ने चिन्ता व्यक्त गरे ।

जिल्ला मालपोत कार्यलयका प्रमुख मालपोत अधिकृत गोबिन्द अधिकारीले फुलपावासीको मालपोतमा कुनै पनि कागजात नभएकाले मोही र तल्सिङको सहमतिबाट समस्या समधान गर्नुपर्ने बताए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका जिल्ला अधिकृत रीता लम्सालले जग्गाबिहीन भूकम्पपीडितका लागि राज्यले जग्गा खरिद गर्न थप रु दुई लाख दिने व्यवस्था गरेको जानकारी गराउँदै उनीहरुका लागि जग्गा उपलब्ध गराउन आ–आफ्ना क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।