शिक्षा

प्रधानमन्त्रीबाट भर्ना भएका विद्यार्थीको अवस्था बुझ्दै सचिवालय

काठमाडौँ । विद्यार्थी भर्ना अभियानमा प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेको बालबालिकाको पढाइ अवस्था बुझ्न उनको सचिवालयका प्रतिनिधि सम्बन्धित विद्यालयमा पुग्न थालेका छन् । दुई वर्षभित्र मुलुकबाट निरक्षरता उन्मुलन घोषणासहित प्रधानमन्त्री ओलीले गत वैशाख १ गते कर्णालीको मुगु र वैशाख ६ गते प्रदेश नं २ को सिरहामा कक्षा १ मा विद्यार्थी भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका थिए ।

प्रधानमन्त्रीका तर्फबाट उनका प्रेस संयोजक चेतन अधिकारीले आज सिरहाको कल्याणपुर नगरपालिका– ११ स्थित रामदुलारी माविमा प्रधानमन्त्रीले भर्ना गर्नुभएको दुई विद्यार्थीको पढाइ र पारिवारिक अवस्था बुझी सहयोग र समन्वय गरेका छन् । सचिवालयका तर्फबाट यसअघि मुगुमा भर्ना भएका विद्यार्थीबारे चासो दिइ सहयोग गरिएको थियो । रामदुलारी माविमा भर्ना भएका पाँच वर्षीय पवन मल्लिक र छ वर्षीया रुपा खत्वेका बुबाआमा डोको र डालो बुन्ने काममा संलग्न रहने र ती सामग्री बिक्री गर्न जाँदा बालबालिका पनि सँगै जाने हुँदा बालबालिका नियमित विद्यालय नगएको पाइएको थियो ।

कैयौँ दिन विद्यालय नआउँदा पनि सम्बन्धित निकायले खासै चासो नदिएको सन्दर्भमा प्रधानमन्त्रीको प्रतिनिधि पुगेर परिवार एवं विद्यायलाई नियमित पढाउने वातावरणका लागि आफूहरु सहयोग गर्ने वचन दिँदै कुनै समस्या परेमा खबर गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्रीसहित उच्च नेता र मन्त्रीबाट अभिभावकत्व ग्रहण गरिएका बालबालिकाको अवस्था बेखबर रहेको भनी आलोचना पनि भएको थियो । सिरहाको उक्त विद्यालय र गाउँमा पुगेपछि प्रेस संयोजक अधिकारीले भने, “बच्चाले कहिलेकाहीँ घरमा खानै नखाई विद्यालय आउने र कहिले विद्यालय नै नआउने अवस्था पाइएको छ । अब यसमा सुधार आउने अपेक्षा गरिएको छ ।” अधिकारीले परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउनुका साथै विद्यालयका प्रधानाध्यापक लालदेव शाहमार्फत स्टेशनरी र पोशाक खर्च प्रदान गरेका थिए ।

सोही विद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भर्ना गर्नुभएका पाँच वर्षीय विद्यार्थी राहुल महराको पनि अवस्था बुझी सहयोग गरिएको संयोजक अधिकारीले जानकारी दिए । प्रधानमन्त्री ओलीले मुगुको मुगुम कार्मारोङ गाउँपालिका वडा नं ८ का छिजु तामाङ र कार्मा टोन्डु लामाका छ वर्षीया छोरी थिल्ने साङ तामाङलाई बुद्ध मावि विद्यालय भर्ना तथा पाठ्यपुस्तक वितरण गरी भर्ना अभियानको शुभारम्भ गरेका थिए ।

प्रधानमन्त्री पत्नी राधिका शाक्यले सोही विद्यालयमा छेरिङ छोन्तोम लामालाई भर्ना गराएका थिए । रारा पर्यटन महोत्सवको उद्घाटन, नयाँ वर्षमा देशवासीका नाममा सम्बोधन र विद्यार्थी भर्ना अभियानको थालनी प्रधानमन्त्रीले गरेका थिए । प्रधानमन्त्रीसहित अन्य राष्ट्रिय नेता र मन्त्रीहरुले विभिन्न जिल्लामा वैशाखको पहिलो साता विद्यार्थी भर्ना गराएको थियो ।

सरकारले पहिलो चरणको विद्यार्थी भर्ना अभियानको सफलतापछि विद्यार्थीलाई टिकाइराख्न र बाँकी विद्यार्थीलाई विद्यालयमा ल्याउन दोस्रो चरणको अभियान सञ्चालन जारी राखेको छ । ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ सञ्चालित पहिलो चरणको अभियानमा विद्यालय बाहिर रहेका कक्षा १ देखि ५ (५ देखि ९ वर्ष उमेर समूहका) अठासी हजार २०७ मध्ये ७६ हजार ६५७ विद्यार्थी भर्ना भएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रारम्भिक विवरणअनुसार कक्षा १ देखि ८ सम्म (५ देखि १२ वर्ष उमेर समूहका) तीन लाख १३ हजार २८९ मध्ये दुई लाख ५३ हजार ५५६ बालबालिका विद्यालयमा भर्ना भएका थिए ।

सरकारले सङ्घीय संसद्मा पेश गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा उल्लेख भएको विद्यालय ल्याऔँ, टिकाऔँ र सिकाऔँ अभियानलाई सार्थक बनाउन वर्षभरी छुटेका विद्यार्थीलाई भर्नामा ल्याउन चलाएको दोस्रो चरणको विद्यार्थी भर्ना कार्यक्रमको प्रतिवेदन आउन बाँकी छ । हाल प्राथमिक तह उमेर समूह (५–९) वर्षका विद्यार्थीको खुद भर्नादरको राष्ट्रिय औसत ९७ दशमलव २ प्रतिशत छ ।

शैक्षिकसत्र २०६१ मा सो तहमा भर्नादर ८० प्रतिशत थियो । भर्नामा आउने र बीचैमा कक्षा छाड्ने प्रवृत्तिमा सुधार्नु सरकारका लागि चुनौतीको विषय बनेको छ । तराईका रौतहट, धनुषा, सर्लाही, बारा, पर्सा, मोरङ, रुपन्देही, पर्वत, जुम्ला, हुम्ला, प्यूठान, बझाङ, रोल्पा, सुर्खेत, दैलेख, बर्दिया, दार्चुला र कपिलवस्तु लगायतका जिल्लामा तुलनात्मकरुपमा बढी बालबालिका विद्यालय बाहिर छन् ।