खेलकुद

दोस्रो राष्ट्रिय भारोत्तोलन हुने

काठमाडौँ । काठमाडौँ जिल्ला भारोत्तोलन सङ्घको आयोजनामा दोस्रो संस्करणको सुनिललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने भएको छ ।

यही असोज १७ र १८ गते हुने प्रतियोगिताको खेल ललितपुरस्थित अग्नि ब्याङ्क्वेटमा हुने सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष बिजेन्द्रविक्रम शाहले जानकारी दिए ।

उहाँका अनुसार प्रतियोगितामा सिनियर महिलातर्फ सात तौल समूह, सिनियर पुरुषतर्फ आठ तौल समूह, जुनियर महिलातर्फ सात तौल समूह र जुनियर पुरुषतर्फ आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा पुरुष सिनियर तथा जुनियरतर्फ ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र १०५ केजी माथि र महिला सिनियर तथा जुनियरतर्फ ४८, ५३, ५८, ६३, ६९, ७५ र ७५ केजी माथि तौल समूह प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा जिल्लाका गरी करीब एक सय खेलाडीले कूल ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अन्तर्राष्ट्रिय भारोत्तोलन महासङ्घ र एशियाली भारोत्तोलन महासङ्घको नियमानुसार खेलाइने उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

यस्तै सिनियर महिला तथा पुरुष दुवैतर्फ सबैभन्दा बढी भार बहन गर्ने खेलाडीलाई दोस्रो बलशाली महिला तथा पुरुष २०१८ (सेकेण्ड नेपाल्स स्ट्रोङगेस्ट ओमेन र मेन २०१८) उपाधिका साथै प्रमाणपत्र, ट्रफी र नगद प्रदान गरिनेछ । सिनियर तथा जुनियर महिला पुरुष दुवैतर्फ उत्कृष्ट भारोत्तोलकलाई उत्कृष्ट भारोत्तोलक उपाधिका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसैगरी सिनियरतर्फ राष्ट्रिय कीर्तिमान कायम गर्ने पुरुष र महिला खेलाडीलाई नगद तथा प्रमाणपत्र तथा जुनियरतर्फ उदीयमान महिला तथा पुरुष खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । जुनियरतर्फ २० वर्ष मुनिका खेलाडीले सहभागिता जनाउनेछन् ।