समाचार

गृहमन्त्रीले आक्रोशित हुदैँ भनेः खुर्शिद हत्यारालाई कानूनको कठघरामा ल्याइछाड्छु

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समूहले असोज ४ गते हत्या गरेका खुर्शिद आलमको हत्यारालाई कानूनको कठघरामा ल्याइछाड्ने बताएका छन् ।

आज गृहमन्त्रालयमा मृतक खुर्शिदको परिवारका सदस्य र सो क्षेत्रका जनप्रतिनिधि सँगको भेटमा गृहमन्त्री थापाले घटनालगत्तै छानबिन समिति गठन गरी समितिले काम अघि बढाएको र केही दिनमै हत्याराको पहिचान हुने विश्वास व्यक्त गरे । उनले मृतक अन्सारीका परिवारका प्रति समवेदना प्रकट गर्दै घटनालगत्तै अन्सरीलाई शहीद घोषणा गरिसकेको र उनको परिवारलाई दिने भनिएको राहत रकम दुई÷चार दिनमै परिवारका सदस्यले पाउने जानकारी दिए ।

उनले भने, “यो घटनालाई मैले गम्भीर रुपमा लिएको छु, अपराधी जो सुकै भए पनि कारवाहीको दायरामा ल्याइछाड्छौँ ।” उनले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको प्रस्ट पारे ।

भेटमा सहभागी मृतक खुर्शिदका भाइ जावेद आलम र काका जमिल आलमले घटना भएको एक हप्ता बित्दासमेत हत्यारा अझै पक्राउ नगरिएको भन्दै छिट्टै पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए । उनीहरुले घटनापछि खुर्शिदलाई लाञ्छना लगाएर सञ्चारमाध्यममा आएको समाचारले आफूहलाई झनै पीडा थपिएको बताए ।

उनीहरुले मृतक खुर्शिदलाई नियोजित रुपमा आरोप लगाइएको भन्दै लगाइएको आरोप तथा आरोप लगाउनेबारे समेत छानबिन गर्नुपर्ने गृहमन्त्रीसँग माग राखेका थिए ।